कैलालीममा चार मतदान केन्द्र थप

समाचार

1/27/2021

धनगढी, १४ माघ । कैलालीमा मतदान केन्द्रहरु हेरफेर भएको छ । कैलाली जिल्ला निर्वाचन समितिको बैठकले चार वटा मतदान केन्द्र थप गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा सिद्धार्थ आधारभूत विद्यालय, गोदावरी नगरपालिका वडा नम्बर ४ हाटखोलीको दुर्गा माध्यामिक विद्यालयमा मतदान केन्द्र थप गरेको जानकारी दिए ।

कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १, रक्साका स्थानीयहरूले कालिका राष्ट्रिय माध्यामिक विद्यालयमा मतदान गर्दै आएका थिए । भौगोलिक विकटताका कारण मतदाताहरूलाई पायक नपरेपछि समितिको बैठकले सोही वडाको राष्ट्रिय आधारभूत विद्यालय चोसेकाडालाई मतदान स्थल तोकिएको छ ।

त्यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर १ का मतदाताहरूले धनगढी उपमहानगरपालिकाको कार्यालय भवन अगाडी मतदान गर्दै आएका थिए ।

अब धनगढी उपमहानगरपालिका वडा नम्बर १ का मतदाताका लागि त्रिनगर माध्यामिक विद्यालयलाई मतदान स्थल बनाउने निर्णय गरेको बताए ।

त्यस्तै, समितिको बैठकले कैलालीको जानकी गाउपालिका वडा नम्बर १ को सरस्वती माध्यामिक विद्यालय दुर्गौली, मोहन्याल गाउँपालिका वडा नम्बर ३ को सुनपाल आधारभूत विद्यालय सावा, वडा नम्बर ३ कायजुवाको शान्ति माध्यामिक विद्यालय फल्लेविसौनीमा मतदान स्थल स्थानान्तरण गरेको जनाइएको छ ।

कैलालीमा अघिल्लो निर्वाचनमा दुई सय ३१ मतदान स्थल र पाच सय ३८ मतदान केन्द्र रहेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति तोकेको छ । आगामी निर्वाचनका लागि अब जिल्लामा चार वटा मतदान केन्द्र थप भएसँगै कैलालीमा पाच सय ४२ मतदान केन्द्र पुगेका छन् ।

कैलालीमा तीन वर्षको अवधिमा ३९ हजार चार सय ७८ मतदाता थपिएका छन् । २०७४ सालको निर्वाचनपछि कैलालीमा २०७७ पुस ५ गतेसम्म ३९ हजार बढी मतदाता थपिएसँगै मतदाताको संख्या पाँच लाख ४६ पुगेको छ । निर्वाचन कार्यालयका अनुसार जिल्लामा दुई लाख ५६ हजार दुई सय चार महिला, दुई लाख ४३ हजार आठ सय ३२ पुरुष र १० जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ