काठमाडौं, २३ भाद्र । विश्वभरि छरिएर रहेका मधेशीहरुको हकअधिकारका लागि स्थापना गरिएको गैरआवासीय मधेशी संघ (एनआरएमए)ले स्थापनाको १० वर्ष पुरा गरेको छ ।
गैरआवासीय मधेशी संघको स्थापना सन् २०१० सेप्टेम्बर ८ मा भएको थियो । आज १० वर्ष पूरा गरी एनआरएमएले ११औं वर्षमा प्रवेश गरेको छ ।
विश्वभरि रहेका मधेशीहरुलाई संगठित गर्दै मधेश र मधेशीको हकहितमा काम गर्ने छाता संगठनको रूपमा गैरआवासीय मधेशी संघको स्थापना गरिएको थियो ।
एनआरएमएका संस्थापक डा.सीके राउत हुन् । उनी अमेरिका बसाईको क्रममा विश्वभरिका मधेशीहरुलाई एक सूत्रमा बाँध्ने र उनीहरुका समस्याबारे बोल्ने संगठनको रुपमा स्थापना गरेका थिए ।
स्थापनाको १० वर्षमा गैरआवासीय मधेशी संघले विश्वका ४५ देशमा आफ्नो संगठन निर्माण गरिसकेको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष तथा जनमत पार्टीका विदेश विभाग प्रमुख ई.बसन्त कुशवाहाले जनाएका छन् ।
ई.कुशवाहाका अनुसार गैरआवासी मधेशी संघमा हालसम्म दुई लाखभन्दा बढ़ी सदस्यहरु आबद्ध रहेका छन् ।
विदेशी भूमिमा पनि गैर आवासीय मधेशी संघ एउटा सशक्त, संगठित र प्रभावकारी संगठनको रूपमा स्थापित भएको उनी बताउँछन् ।
१०औं वार्षिकोत्सवको उपलक्ष्यमा एनआरएमएमा आबद्ध सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरुमा ई. कुशवाहाले शुभकामना र धन्यवाद व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया