रौतहट, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले गौर हत्याकाण्डका अपराधीहरुलाई कारवाही गर्न विलम्ब गर्न नहुने बताएका छन् ।
बुधबार दिपावली तथा छठ पर्वको अवसरमा रौतहटको बौधीमाई नगरपालिका–४, इनरवारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले रौतहटको कलंकको रुपमा राजपुर बम काण्ड र गौर हत्याकाण्ड रहेको बताए ।
उनले राजपुर बम काण्डको पीडितले न्याय पाउने स्थिति रहेको तर गौर हत्याकाण्डको अपराधी खुलेआम घुम्नु दुःखद रहेको बताए । हत्याकाण्डका योजनाकार तथा हत्याराविरुद्ध जाहेरी दर्ता भएको वर्षौं बितिसक्दा पनि पीडित न्यायको पर्खाइमा रहेको भन्दै नेता साहले अपराधीलाई कारवाही गरि रौतहटमाथि लागेको कंलक हटाउन ध्यानाकर्षण गराएका हुन् ।
घटनाको छानबिनका लागि गठन गरिएको आयोगसमेतले अपराधीहरुको बारेमा स्पष्ट प्रमाण दिइसकेको वर्षौं बितिसकेकोले अब हत्याराहरुलाई जेल हाल्नुको विकल्प नरहेको नेता साहले बताए ।
“दुई काण्डका कारण रौतहटको नाममा ठूलो कलंक लागेको छ । एउटा बम काण्ड र अर्को गौर काण्ड । बम काण्डको छिनोफानो त भैसक्यो तर गौर हत्याकाण्डको पीडितले न्याय पाउन बाँकी छ । रौतहटमाथिको कलंक हटाउन गौर हत्याकाण्डको अनुसन्धान हुनु जरुरी छ । यसमा जोसुकै व्यक्ति दोषी देखिन्छ भने त्यसलाई दण्डित गर्नुपर्छ ।“ नेता साहले भने, “यहाँ जाहेरी दर्ता भएको छ, तत्काल न्यायाधीशको नेतृत्वमा गठित आयोगले प्रतिवेदन दिइसकेको छ। त्यसैले यस्तो अमानवीय र विभत्स हत्याकाण्डका दोषीलाई उन्मुक्ति दिएर कानुनी शासन बहाली हुँदैन। गौर हत्याकाण्डबारे आँखा चिम्लेर बस्न सकिँदैन। यस घटनाका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ, पीडित पक्षले न्याय पाउनुपर्छ।“
नेता साहले थपे,“ तर आज यति दिन बितिसक्दा पनि न्यायको लागि गुहार्नुपर्ने र दोषीलाई लाई कारवाही नहुने अवस्था आउनु दुःखद छ ।“
“हामी ती वीर सहिदहरुको पीडित पीडित परिवारलाई विश्वस्त पार्न चाहन्छौं कि हत्याराहरु अब छिटै जेलभित्र हुनेछन् । अब गौर हत्याकाण्डको अपराधीलाई सजाय दिन विलम्ब हुनुहुँदैन । म सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।“ नेता साहले भने ।
२०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिलमा तत्कालीन नेकपा माओवादीका २७ जना कार्यकर्ताको हत्या गरिएको थियो । हाल जसपाका अध्यक्ष रहेका तत्कालीन मधेशी जनअधिकार फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको योजना उक्त हत्याकाण्ड भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भएको छ । तर मुद्दा अहिले विचाराधीन अवस्थामा रहेकोले न्यायका लागि पीडितहरु गुहार्दै आएका छन् ।
कार्यक्रममा प्रदेश सासंद कुन्दन कुश्वाहा, संविधानसभा सदस्य अबदुल कलाम आजाद, कटहरीया नगरपालिकाका मेयर सियाराम कुश्वाहा, नेकपा प्रदेश कमिटी सदस्यहरु त्रिभुवन साह, मनोज यादव, जयचन्द्र पटेललगायतका नेताहरुको उपस्तिथि रहेको थियो ।
तपाईको प्रतिक्रिया