नेपालगञ्ज, ८ भाद्र । कोभिड–१९ महामारीका कारण मुस्लिम समुदायले एकसातासम्म धुमधामका साथ मनाउने मोहर्रम पर्वका सबै धामिर्क कार्य यस वर्ष घरमै मनाउन आग्रह गरिएको छ ।
केन्द्रीय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समिति बाँकेले कोभिड–१९ का कारण मोहर्रम पर्वका सबै धार्मिक कार्यक्रमलाई घरमै गर्ने निर्णय गरिएको जनाएको छ ।
समितिका अध्यक्ष फिरोज हलवाइले यस वर्ष महामारीलाई मध्यनजर गर्दै नेपालगञ्जका ५५ वटा मोहर्रम कमिटीका पदाधिकारीको उपस्तिथिमा मोहर्रमका सबै धार्मिक कार्यक्रमहरु घरमै गरेर परिवार र आफन्तका साथ मनाउने निर्णय गरिएको जानकारी दिए ।
मोहर्रम पर्वलाई सात दिनसम्म सयौंको जुलुसका साथ हरेक दिन मनाइने गरिएकोमा यस वर्ष सबै कार्यक्रमलाई स्थगित गरेर आ आफ्नो घरमा धार्मिक कार्य गर्ने तथा दस तारिखका दिन ताजिया सेलाउन दुई चार जनाको समूहमा पालैपालो स्थानीय कर्बलामा जाने निर्णय गरिएको छ ।
यस वर्षको मोहर्रम पर्वमा कुनै पनि जुलुस ननिकाल्ने र आआफ्नो घरको अगाडि आलम खडा गर्ने, ढोल बजाउने, लगायतको रितिरिवाज नेपाल सरकारको स्वास्थ्य सम्बन्धित मापदण्डलाई पालना गर्दै घरमै मनाउन जानकारी गराउन माइकिंग गर्ने तथा पर्चा पम्पलेट वितरण गर्ने कार्य पनि शुरु गरिएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेमा धार्मिक सदभाव समिति, विभिन्न मोहर्रम समितिहरु र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा पनि मोहर्रमका सबै धार्मिक कार्य यस वर्ष घरमै गर्ने सहमति भएको थियो । आइतवारबाट शुरु भएको मोहर्रम पर्व भदौ १४ गतेसम्म चल्ने छ ।
तपाईको प्रतिक्रिया