सर्लाही, २२ माघ । सर्लाहीको चक्रघट्टा गाउँपालिकाको निर्माणाधीन भवन महिनौँदेखि अलपत्र परेको छ ।
चक्रघट्टा बजारस्थित कार्यक्रम आयोजना गर्न बनाइएको मञ्चमाथिबाटै गारो उठाएर कमसल भवन बनाइएको भन्दै उच्च अदालत जनकपुरमा मुद्दा परेको थियो । उच्च अदालतले भवन निर्माणको काम नबढाउन आदेश दिएपछि हनुमान मन्दिर र एउटा साँघुरो भवनबाट सञ्चालन भइरहेको गाउँपालिका आफ्नै भवन निर्माण गर्न असफल भएको हो ।
जगबिनै लापरबाही ढंगले भवन ठड्याइएको भन्दै स्थानीयले विरोध गर्दागर्दै अदालतको आदेश आउनुअघिसम्म गाउँपालिकाले छत ढलान गरेर दुई तला खडा गरिसकेको छ ।
अदालतको आदेशपछि भवन निमार्णका लागि ल्याइएका सिमेन्ट र अन्य निर्माण सामग्री नष्ट भएर काम नलाग्ने भएका छन् । अटेर गरेर काम गर्दा गाउँपालिकाको ठूलो लगानी बालुवामा पानीझैँ भएपछि स्थानीयले दुःखेसो पोखेका छन् ।
गाउँपालिका कार्यालयबाट अन्तिम पटक गत असारमा भवन निर्माण गरिरहेका ठेकेदारलाई भुक्तानी गरेपश्चात उच्च अदालतले भवनको बाँकी काम अघि नबढाउनु भन्ने आदेश दिएको थियो ।
सो भवन बनाउन गाउँपालिकाको झण्डै एक करोड ३० लाख बढी रकम खर्च भइसकेको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम (राय) यादवले बताए । उनले भवन निर्माणको काम अघि बढाई पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष यादवले प्राविधिकहरुको रेखदेखमा भवन निर्माण भइरहेको भनेका छन् । विपक्षीले अनावश्यक बखेडा निकालेर आरोप लगाउँदै आएका उनले बताए। यादवको कार्यशैलीमाथि स्थानीयले प्रश्न उठाउँदै आएका छन् ।
भवन निर्माणमा लापरवाहीसँगै भौगोलिक रुपमा सानो भए पनि गाउँपालिकामा विकासले खासै गति लिन नसकेको गुनासो स्थानीयले गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया