काठमाडौं, ८ असोज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हुम्लामा चीनले सीमा मिचेको हो वा होइन भन्ने स्थलगत अध्ययनको विवरण आउनु अगाडि नै सरकारले हतारोमा धारणा सार्वजनिक गरेकोमा ध्यानाकर्षण भएको बताएको छ ।
‘हुम्लास्थित नेपाल र चीनको सीमासम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै सीमा मिचिएको छैन भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेकोप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनु पूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत नदेखिएको कांग्रेसले आपत्ति प्रकट गरेको छ ।
‘अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको हो वा होइन भन्नेबारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का राखेन,’ शर्माले भने । कांग्रेसले पनि सीमाबारे वस्तुगत अध्ययन गरिरहेको शर्माको भनाइ छ ।
सीमासम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चारमाध्यम समेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने हाम्रो बुझाइ छ,’ उनले भने ।
सीमा मिचिएको ठहर भएमा कांग्रेसले संवादकै माध्यमबाट कूटनीतिक प्रक्रियाबाट समाधान गर्न सचेत गराउने पनि उनको भनाइ छ ।
अध्ययनको विवरण आउनुअघि नै सरकारले धारणा सार्वजनिक गर्नु कमजोरी भएको कांग्रेसको भनाइ छ ।
तपाईको प्रतिक्रिया