काठमाडौं, २ कात्तिक । नेपाल–चीन सीमास्थित लिमीको ललोङजोङ र हिल्सामा नेपाली भूमि मिचिएको भन्दै कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।
तत्काल विज्ञ सम्मिलित टोली पठाई सीमा विवाद हल गर्न माग गर्दै कांग्रेस केन्द्रीय सदस्य शाही नेतृत्वको टोलीले हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
डेढ महिनाअघि लिमी क्षेत्रमा नेपाली भूमि मिचेर चिनियाँ पक्षले ९ वटा भवन बनाएको भन्ने समाचार बाहिरिएपछि शाही नेतृत्वको टोली सीमाक्षेत्र पुगेको थियो । कांग्रेस जनप्रतिनिधिको टोलीले ललोङजोङ र हिल्सामा नेपाली भूमि मिचिएको निष्कर्ष निकालेको थियो । चिनियाँ पक्षले करिब डेढ किलोमिटर नेपालको भूमि मिचेर ललोङजोङमा भवन निर्माण गरेको सांसद शाहीले बताए । ‘सरकारले सीमा मिचिएकोबारे गम्भीर अध्ययन र अनुसन्धान गरी कूटनीतिक पहल चाल्न जरुरी छ,’ उनले भने, ‘पहिलो चरणमा प्रजिअमार्फत प्रधानमन्त्रीलाई दुई बुँदे मागसहित ध्यानाकर्षण पत्र पठाएका छौं ।’
सीमा मिचिएको कुरा बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोली सीमा क्षेत्रमा पुगेको थियो । तर उक्त टोलीले स्थलगत अध्ययन प्रतिवेदन सरकारलाई नबुझाउँदै परराष्ट्र मन्त्रालयले हचुवाको भरमा सीमा नमिचिएको विज्ञप्ति जारी गरेको पूर्वमन्त्री शाहीले दाबी गरे । ‘हचुवा भरमा मन्त्रालयले लोलुङजोङमा नयाँ संरचना चीनकै भूमिमा पर्ने विज्ञप्ति जारी ग¥यो,’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारीले समेत सत्यसत्य बोल्न आलटाल गरेपछि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हौं ।’ सिमकोटबाट गएको सरकारी टोलीले सबै स्थानको स्थलगत अध्ययन नगरेको उनले दाबी गरे ।
शाही नेतृत्वको टोली असोज १४ गते सीमा क्षेत्र गई ११ दिनपछि फर्किएको थियो । टोलीले नाम्खा गाउँपालिकाको लिमी र हिल्सा क्षेत्रमा रहेका नेपाल र चीनबीचका ५ (१), ५(२), ६(१), ७(१) ८(१) ९(१), ९(२), १०, ११ र १२ नम्बरका सीमा स्तम्भको स्थलगत अनुगमन गरेको थियो । टोलीले लोलुङजोङमा चीनले भौतिक संरचना निर्माण गरेको र नेपालले निर्माण गरेको गप्पुदोचादेखि झण्डै २ किमि सडक अतिक्रमण गरेको निष्कर्ष निकालेको थियो । त्यस्तै, हिल्सास्थित ९(२), ५(१), ५(२) र ६(१) नम्बरका सीमा स्तम्भ चिनियाँ पक्षले आफ्नो भूगोलमा पारी तारबार गरेको आरोप टोलीले लगाएको छ ।
तपाईको प्रतिक्रिया