काठमाडौँ, २ पुस । उखु किसानको बक्यौता रकम भुक्तानी नदिने चार सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिज प्रालि सर्लाही र इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीका सञ्चालक राकेश अग्रवाल, रौतहटस्थित श्रीराम सुगर मिलका सञ्चालकद्वय हितेश गोल्छा र विशाल अग्रवाल तथा पश्चिम नगवलपरासीस्थित लुम्बिनी सुगर मिलका सञ्चालक श्रेया अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
उनीहरु विरुद्ध ठगीमा मुद्दा चलाउन पुर्जी जारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही, रौतहट र पश्चिम नवलपरासीले आरोपितको खोजी गर्न महानगरीय अपराध महाशाखालाई पनि पत्राचार गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही तथा सम्वन्धित मन्त्रालयका सचिव सम्मिलित बैठकले किसानलाई बक्यौता बापतको रकम भुक्तानी नदिने सुगर मिल सञ्चालकविरुद्ध ठगीमा कारबाही गर्न प्रहरी र सुगर मिल रहेका जिल्लास्थित प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो ।
बैठकको निर्देशनपछि गृहले उखु मिल रहेका जिल्ला प्रशासन र प्रहरी प्रधान कार्यालयलाई मुलुकी अपराध संहिता–२०७४ को ठगी सम्बन्धी कसुरमा पक्राउ गरी कारबाही चलाउन परिपत्र गरेको थियो । सोही परिपत्र पछि प्रहरीले चार सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
सरकारले बक्यौता रकम दिलाउने आश्वसन दिए पनि अझै भुक्तानी नभएको भन्दै उखु किसानहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । २०७६ पुस १८ गते उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले उखु किसानसँग लिखित सम्झौता गरी सोही वर्षको माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता दिलाउने प्रतिवद्धता जनाएको थियो ।
तपाईको प्रतिक्रिया