काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता टुंगो लगाउन असफल भएको छ ।
दलको नेता चयनका लागि शुक्रबार जसपाको संसदीय दलको बैठक बसेको थियो । तर आन्तरिक विवादका कारण उक्त विषयलाई थाँती राखिएको एक नेताले बताएका छन् ।
जसपाको संसदीय दलको नेताका लागि महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई आकांक्षी छन् । तत्कालीन राजपा र समाजवादीबीच एकीकरणका बेला राजेन्द्र महतोलाई संसदीयको नेता बनाउने भद्र सहमति भएको कतिपय नेताहरुको भनाइ छ ।
संसदीय दलको नेता चयन गर्ने भनिए पनि विधान निर्माण भई नसकेकोले नेता चयन नभएको बताइएको छ । विधान स्वीकृत भएपछि मात्रै दलको नेता चयन हुनेछ ।
जसपाको शुक्रबार बसेको संसदीय दलको बैठकमा सरकारको नेतृत्व दाबीसहित अरु दलसँग प्रस्ताव गर्ने नेता राजकिशोर यादवले जानकारी दिए ।
‘धेरैपटक अरुलाई समर्थन गरियो अब जसपाले नै सरकारको नेतृत्व गर्नुपर्छ भन्ने आवाज उठेको छ’, बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै यादवले भने, ‘यस विषयमा एमाले, काँग्रेस र माओवादीसँग कुराकानी हुन्छ ।’
यादवले विगतदेखि नै आफ्नो दललाई सत्ताको लागि प्रयोग भएको आरोप लाग्ने गरेको बताउँदै अब नेतृत्व गर्न तयार रहेको बताए । अब काँग्रेस–एमालेसँग जसपाको नेतृत्वमा सरकार बनाउने प्रस्ताव गर्ने उनको भनाइ छ ।
सरकारसँग अहिले कार्यदल बनाएर भइरहेको छलफल रेशम चौधरीको रिहाइका लागि मात्रै भएको उनको दाबी छ । नेपाली कांग्रेससँग सत्ता समीकरणका विषयमा छलफल गर्नुपर्ने भएकाले बैठक केही समयका लागि मात्र बसेको हो ।
तपाईको प्रतिक्रिया