रौतहट, १३ कार्तिक । रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं जनता समाजवादी पार्टी नेपालका निर्वाचन प्रमुख अनिल कुमार झाले विवादित अभिव्यक्ति दिएका छन् ।
जनता समाजवादी पार्टीले बडा दशैं, शुभ दीपावली तथा छठ पर्वको अवसरमा रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ३ मा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख आतिथिको आसन्नबाट सम्बोधन गर्दै पूर्वमन्त्री झाले संघीय सांसदले नगरपालिका र गाउँपालिकाको खातामा पठाउने विकास निर्माणको रकम स्थानीय तहका मेयरको बाउको सम्पति नरहेको भनी नकारात्मक टिपण्णी गरेका छन् ।
पहिलाको सांसद जस्तो अहिलेको सांसदको अधिकार नभएको जिकिर गर्दै पूर्वमन्त्री झाले स्थानीय सरकारलाई पुल, नाला, सिचाई, विद्यालय निर्माण, अस्पताल निर्माण लगायतका विकास निर्माणको कार्य गर्न संघीय सांसदले नगरपालिका र गाउँपालिकाको खातामा बजेट हाल्न लगाउँछ तर मेयरहरुले सांसदले के दिए भनी प्रश्न उठाउने गर्ने भन्दै भने सांसदले केहि दिएन भने खातामा आएको रकम तपाईको बाउको हो ।
रौतहटका स्थानीय तहहरुमा सांसदले बजेट पठाउने गरेको सांसद झाको कथन छ ।
मेयरलाई विकास निर्माणदेखि लिएर दैवी प्रकोपको बेला वितरण गर्ने राहत सामग्री खरीद गर्न तथा कोरोना महामारी नियन्त्रण गर्नमा समेत केन्द्रीय सरकारमा प्रतिनिधित्व गर्ने संघीय सांसदको देन रहेको उनको तर्क रहेको छ ।
पैसा पठाएपनि स्थानीय सरकारका मेयरहरुले संघीय सरकार, सांसदले केहि नदिएको भनी गुनासो गर्दै आएकोले आक्रोशित हुँदै सांसद झाले मेयरप्रति यस्तो आपत्तिजनक शब्द प्रयोग गरेका हुन् ।
सो कार्यक्रममा राज्यमन्त्री योगेन्द्र राय यादवप्रति लक्षित गर्दै पूर्वमन्त्री झाले भने, ‘राज्यमन्त्रीको हैसियत के छ, कसैले आफ्नो औकादमा बसेर कुरा गर्नु पर्छ ।’ नेता झाले भने, ‘राज्यमन्त्री मेरो श्रीमती भए पनि झण्डा हल्लाउनेसम्मको अधिकार मात्रै रहेको छ ।’
स्थानीय जनताले सिचाईको विषयमा प्रश्न गर्दा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले मेरो अधिकार भित्रको विषय नभई भौतिक पूर्वाधार योजना मंत्रालय अंतर्गतको विषय बस्तु रहेको र यसको राज्यमन्त्री पूर्वउद्योगमन्त्री झाको पत्नी रहेको भनेपछि सांसद झा राज्यमन्त्री यादव प्रति तातिएका थिए ।
स्थानीय तहमा आउने बजेट मेयरको बाउको नभई पठाउने सांसदको बाउको रहेको सांसद झाको कथन रहेको छ । आफ्नो संसदीय क्षेत्र विकास कार्यक्रमको निमित पाउने रकम एकात्मक शासन प्रणाली जस्तो आफ्नो निजी कम्पनी अनिल डिम्पल फाउंडेशनमा खर्च गर्ने सांसद झाले मेयरप्रति प्रयोग गरेको अपशब्द शोभनीय नभएको भन्दै तीव्र आलोचना भैरहेको छ ।
कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम प्रसाद कुशवाहाले मेयरप्रति सांसद झाले प्रयोग गरेको आपत्तिजनक शब्द गैरराजनीतिक संस्कारको नमूना भएको प्रतिक्रिया दिएका छन् ।
मेयर कुश्वाहाले उच्चस्तरीय नेता भएर यस्तो नीच शब्द प्रयोग गर्नु निन्दनीय रहेको छ उनले भने मेयरप्रति गरेको नकारात्मक टिप्पणी अविलम्ब फिर्ता लिनुपर्छ ।
जनताबाट निर्वाचित भएका जनप्रतिनिधि अर्को निर्वाचित जनप्रतिनिधिप्रति घटिया शब्द प्रयोग गर्नु राजनीतिक संस्कारहीनताको परिचय दिनु हो । नगरपालिका र गाउँपालिकाका नगर प्रमुख, अध्यक्षप्रति लक्षित गरी दिएको अभिव्यक्ति तुरन्त सुधार गर्नु पर्ने नेपाल नगरपालिका संघ प्रदेश २ का अध्यक्ष एवं परोहा नगरपालिकाका नगर प्रमुख शेख वकीलले बताए ।
नगर प्रमुख वकीलले सांसद झाले मेयर र मधेशी महिलाको चरित्र हत्या गर्ने उद्देश्यले दिएको अभिव्यक्ति सच्याएर माफी माग्नु पर्ने बताए ।
राजनीतिक संस्कार गुमाएका सांसद झाको अभिव्यक्तिले सांसद जस्तो गरिमामय पदको खिल्ली उडाएको भन्दै टिपण्णी गरेका छन् ।
तपाईको प्रतिक्रिया