वीरगन्ज, ५ चैत । वीरगन्जको ठाकुरराम क्याम्पसको बीबीए संकायको चौंथो सेमेष्टरमा अध्ययनरत विद्यार्थी सचिन पटेल क्यापसमै आमरण अनशनमा बसेका छन् ।
बीबीए संकायको भवन निर्माणको माग गर्दै पटेलले क्याम्पसको सभाहल अगाडि पटेल आमरण अनशनमा बसेका हुन् ।
आफूहरुलाई क्याम्पस प्रमुखले झुक्काएर भर्ना लिएको तर अध्ययन गर्ने बीबीए संकायको भवन नभएका कारण पठन पाठन नै प्रभावित भएकाले बाध्य भएर आमरण अनशन नै शुरु गर्नु परेको आमरण अनशनमा बसेका पटेलले बताए ।
आफूहरुलाई जीर्ण अवस्थाको भवनमा राखेर पढाइएका कारण आफू आमरण अनशनमा बस्न बाध्य भएको उनले बताए ।
क्याम्पस परिसरमा साढे ६ वर्षदेखि निर्माणाधीन बीबीए संकायको भवन अधुरो र अलपत्र अवस्थामा छ । गत फागुन ७ गते पनि बीबीए संकायमा अध्ययनरत सचिन सहितका विद्यार्थीले भवन निर्माण कार्य छिट्टै सक्न माग गर्दै क्याम्पस परिसरमा धर्ना दिएका थिए ।
बीबीए संकायको पहिलो वर्षमा विद्यार्थी भर्ना हुँदाका बखत क्याम्पस प्रशासनले १ वर्षभित्रै भवन निर्माण कार्य सक्ने र नयाँ भवनमा पठन पाठन गराउने आवश्वासन दिएको थियो ।
तर आश्वासन पाएको ३ वर्ष बितिसक्दा पनि भवन अधुरै रहेको भन्दै विद्यार्थीले फागुन ७ गते क्याम्पस परिसरमै धर्ना दिँदै प्रदर्शन गरेका थिए ।
क्याम्पस प्रमुख सुरेश कुशवाहाले भने विद्यार्थीको माग संवोधनमा आफूहरु लागिरहेको बताए । ठेकेदार कम्पनीले समयमा भवन नबनाइदिएका कारण पनि समस्या भएको उनको भनाइ छ ।
ठाकुरराम बहुमुखी क्याम्पसमा साढे ६ वर्ष पहिले त्रिभुवन बिश्वबिद्यालयले उपलब्ध गराएको १ करोड ४० लाखको लागतमा बीबीए संकायको भवन निर्माणाधिन छ । तर भवन निर्माणको ठेक्का सकारेको निर्माण कम्पनीले भवन अपुरै छाडेका कारण अलपत्र छ ।
तपाईको प्रतिक्रिया