तीन बुँदे सहमतिपछि जानकी मेडिकल कलेजको अनसन तोडियो

समाचार

11/29/2020

जनकपुरधाम, १४ मंसिर । विगत २८ दिनदेखि आमरण अनसनमा बसेका जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका दुईजना कर्मचारीले अनसन तोडेका छन् ।

कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबिच शनिबार तीन बुँदे सहमति भएपछि दुबै कर्मचारीले आमरण अनसन तोडेका छन्। जानकी शरण यादव र कुलदीप साहले शनिबार दिउँसो जुस पिएर अनसन तोडेका छन् ।

कलेज व्यवस्थापन र आन्दोलनत कर्मचारीबीच तीन बुँदे सहमति पश्चात अनसन तोड्दै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादवले बताए ।

गत भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय धनुषामा भएको दुईपक्षीय सम्झौताको मितिदेखि आन्दोलन अवधिमा गरिएको सम्पूर्ण कारवाही, निलम्बन आदि फुकुवा गर्न कलेज तयार भएपछि सहमति भएको हो ।

त्यस्तै कलेज र कर्मचारीबीचको समस्या समाधान गर्न दुबै पक्षबाट २–२ जना प्रतिनिधि र धनुषा जिल्लाका स्वास्थ्यकर्मीहरुको अधिकारिक ट्रेड युनियनका अध्यक्षहरु सम्मलित कार्यदल मंसिर १७ गतेभित्र गठन गरी सम्पूर्ण समस्यामाथि छलफल गरी निराकरण गर्ने सहमति भएको हो।

कर्मचारीहरु कलेजले विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्षको दसैँ खर्च र नियमित तलबभत्ता दिनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ