तिलोत्तमामा पीसीआर परीक्षण निःशुल्क

समाचार

10/20/2020

बुटवल, ५ कात्तिक । केन्द्र सरकारले कोरोना परीक्षण (पीसीआर) निःशुल्क नगर्ने र होम आइसोलेसनमा मृत्यु भएकाहरुको शव व्यवस्थापन पनि परिवारले नै गर्ने निर्णय गरेको बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने नगरपालिकाले आफैले जिम्मा लिने निर्णय गरेको छ ।

कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा मंगलबार बिहान बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नगरवासीको कोरोना जाँच (पीसीआर परीक्षण) र मृतको शव व्यवस्थापनको जिम्मा लिने निर्णय गरेको हो ।

यसअघि शव व्यवस्थापनको काम सम्बन्धित पालिकाको सहयोगमा नेपाली सेनाले गर्दै आएको थियो भने पीसीआर सरकारले गर्दै आएको थियो ।

शव व्यवस्थापन जिम्मेवारीबाट संघीय सरकार पछि हटेपछि तिलोत्तमा नगरपालिकाले त्यसको जिम्मेवारी लिएको हो । बैठकले शव व्यवस्थापनको आवश्यक तयारी गर्न स्वास्थ्य शाखालाई जिम्मेवारी दिएको छ ।

तिलोत्तमामा मंगलबारसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । हालसम्म तिलोत्तमाका ७ सय २६ जनालाई कोरोना संक्रमण भएकोमा ३ सय ९३ जना निको भइसकेका र ३ सय २५ जना सक्रिय संक्रमित छन् ।

बैठकले कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरवासीको पहिलो पटकको परीक्षणसमेत निःशुल्क गर्ने निर्णय गरेको छ । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा परेर लक्षण देखिएकाहरुको नगरपालिकाको खर्चमा पीसीआर परीक्षण गर्न सरकारी प्रयोगशालासँग सम्झौता गर्ने निर्णय बैठकले गरेको हो ।

तिलोत्तमाका नगर प्रमुख बासुदेव घिमिरे समेत कोरोना संक्रमित भई २० दिनदेखि आइसोलेसनमा छन् ।

यस्तै नगरपालिकाले शंकरनगर आइसोलेसन सेन्टरमा अक्सिजन सिलिन्डरको संख्या थप गर्ने निर्णयसमेत गरेको छ । कोरोना संक्रमितले अक्सिजनको अभावमा मृत्युवरण गर्न परिरहेका खबर आइरहँदा तिलोत्तमाले आइसोलेसनमा अक्सिजन सिलिन्डरको संख्या ६ बाट २० पु¥याउने निर्णय गरेको हो ।

हाल आइसोलेशनको क्षमता ४० बेड रहेकोमा बेडको संख्या पनि बढाउने निर्णय सिसिएमसी बैठकले गरेको कार्यवाहक नगर प्रमुख चौधरीले जानकारी दिइन् । हाल तिलोत्तमाको आइशोलेसनमा अन्य पालिकाबाट जाँच भई आएका २२ जना संक्रमित रहेका छन् । बैठकले संक्रमितहरुलाई घर(घरमा आयुर्वेदिक जडिबुटी पु¥याउने कार्यक्रमलाई निरन्तर दिने निर्णय समेत गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले कोरोना महामारी शुरु भएपछि संघीय सरकारबाट संक्रमण रोकथाम, उपचार तथा राहतको लागि २ लाख र प्रदेश सरकारबाट १५ लाख रुपैंयाँ नगरपालिकाको खातामा आएको जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ