नेपालगञ्ज, ४ भाद्र । थरुहट थारुवान राष्ट्रिय मोर्चाले भदौ ७ ८ मा तय गरेको विरोधको कार्यक्रम स्थगित गरेको छ । मोर्चाले पत्रकार सम्मेलन मार्फत भदौ ७ र ८ भदौमा गर्ने भनिएको विरोधका कार्यक्रम स्थगित गरिए पनि अन्य संघर्षका कार्यक्रम जारी रहेने जनाएको छ ।
‘नेपाल सरकारसँग १३ बुँदे माग राखेर घोषणा भएको कार्यक्रमहरु कोरोना महामाहरीको कारण मुलुकमा भइरहेको बन्दाबन्दी र सङक्रमणबाट हुनसक्ने भयाभह स्थितिलाई मध्यनजर गर्दै अर्को सूचना जारी नगरुन्जेलसम्मका लागि घोषित कार्यक्रम स्थगित गरिएको छ,’ मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
टीकापुर थरुहट विद्रोहलाई स्मरण गर्दै ७ भदौमा काठमाडौं केन्द्रित गर्दै देशव्यापीरुपमा विरोधको कार्यक्रम गर्ने र टीकापुरमा भएको थारुहरुको घर, पसल, व्यवसायिक केन्द्र तथा संचार गृहमा भएको आगजनी, तोडफोड, लुटपात एवं गृह प्रशासनको दमनको विरुद्ध ८ भदौमा कालो दिनको रुपमा मनाउने कार्यक्रम थियो ।
संघर्षका कार्यक्रमको स्वरुप मात्रै परिवर्तन भएको बताउँदै उनले आन्दोलनको कार्यक्रम निरन्तर जारी रहेको स्पष्ट पारेका छन् । ‘समय र परिस्थिति अनुकूल हुने वित्तिकै सशक्त संघर्षको कार्यक्रम घोषणा गरिनेछ,’ थारुले भने ।
तपाईको प्रतिक्रिया