काठमाडौं, १० पुस । भारतको दिल्ली सरकारले पहिलो चरणमा कोरोनाविरुद्धको खोप प्राप्त गर्ने दिल्लीका ५१ लाख जनालाई छनोट गरेको छ ।
केन्द्र सरकारले कुनै पनि खोपलाई अनुमति नदिए पनि दिल्ली सरकारले पहिलो चरणमा प्राथमिकताको आधारमा ५१ लाख मानिसको लिस्ट तयार गरेको हो । मुख्यमन्त्री अरविन्द केजरीवालले कुनै पनि खोपलाई अनुमति दिनासाथ केन्द्र सरकारको प्राथमिकताअनुसार दिल्लीमा खोप दिनुपर्ने व्यक्तिहरु छनोट गरिसकिएको बताएका छन् ।
साथै दिल्ली सरकारले खोपको भण्डारण, खोपको सम्भावित असरको उपचारलगायतको समेत तयारी गरिसकेको छ । केजरीवालले केन्द्र सरकारले पहिलो चरणमा तीन किसिमका व्यक्तिलाई खोपका लागि प्राथमिकतामा राखेको बताए । स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर काम गरिरहेका अन्य व्यक्ति र ५० वर्षमाथिका व्यक्तिहरु गरी तीन किसिमका व्यक्तिको सम्पूर्ण विवरण दिल्ली सरकारले तयार गरेको छ ।
जसका लागि त्यहाँ एक करोड दुई लाख डोज खोप आवश्यक पर्नेछ । दिल्ली सरकारले ७४ लाख डोज खोपको भण्डारणसमेत तयार गरिसकेको छ भने केही दिनभित्रै १ करोड १५ लाख डोजका लागि भण्डारण तयार हुँदैछ ।
भारतमा विभिन्न विदेशी कम्पनीका कोरोना खोपहरुको उत्पादनसमेत भइरहेका छन् भने भारतले आफ्नै देशको खोप पनि उत्पादन गरेर परीक्षणको क्रममा छ । यी खोपहरुले अनुमति पाएकै दिनदेखि खोप लगाउन मिल्ने गरी दिल्ली सरकारले सम्पूर्ण तयारी पूरा गरेको हो ।
तपाईको प्रतिक्रिया