कैलाली, २३ कार्तिक । कैलाली जिल्लाको टीकापुर–६ आम्बासामा सशस्त्र द्वन्द्वका पीडित महिलाले नेपाली कागज बनाउन थालेका छन् । महिलाले केराको थामबाट नेपाली कागज निर्माण थालेका हुन् ।
द्वन्द्व प्रभावित महिलाले समूहमार्फत कागज निर्माण कार्य थालेका हुन् । टीकापुरमा ३९ सदस्यीय द्वन्द्वपीडित महिला सञ्जाल निर्माण भएको छ । सञ्जालले घाइते तथा अन्य काम गर्न नसक्ने १० जना महिलालाई उद्योगमा रोजगार दिएको छ । आम्वासकी कृष्णादेवी चौधरी अहिले घरबाटै नेपाली कागजको लिफाफा अथवा खाम बेच्छिन
गाउँमै पाइने केराको थामबाट नेपाली कागज उत्पादन गरी खाम तयार गरेर उनले घरबाटै बेच्न थालेकी हुन् । कागज बनाउन गाउँ घरमा सहजरुपमा पाइने केराको थाम, बावियो र लोक्ताको प्रयोग गरिन्छ ।
प्रशोधनसहित महिलाले गाउँमै नेपाली कागज उत्पादन गरिरहेका छन् । अन्य रोजगार गर्न नसक्ने घाइते महिलाले सामूहिक रुपमा नेपाली कागज उत्पादन गर्ने कार्य गरिरहेका द्वन्द्व पीडित महिला आशा चौधरीले बताइन ।
टीकापुर नगरपालिकाले प्रभावित महिलाका लागि रु पाँच लाख सहयोग गरेपछि उनीहरुले उद्योग खोलेका हुन् । महिलाले विसं २०७६ वैशाख १० गतेबाट तालिमपछि उद्योग सञ्चालन गरेका हुन् ।
नगरपालिकाले महिलाले व्यवसाय सञ्चालन गरेकाले थप सहयोग गर्ने बताएको छ । उद्योगमा आवद्ध महिलाले यसरी गाउँमै काम गर्न पाउँदा घर खर्च चलाउन सहज हुने बताएका छन् ।
तपाईको प्रतिक्रिया