धनुषामा राप्रपा र राप्रपा संयुक्तबीच एकीकरण

समाचार

10/6/2020

जनकपुर, २० असोज । केन्द्रमा एकिकरण भएको एक वर्षपछि धनुषामा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच एकता भएको छ । ती दुई पार्टीबीच भएको भेलाबाट धनुषा जिल्लाको अध्यक्षमा रामचन्द्र यादवलाई सर्वसम्मत चयन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा उच्च कार्य सम्पादन समितिका सदस्य कृष्णप्रताप मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलाले अध्यक्ष चयन गर्दै अन्य पदाधिकारी तथा सदस्यहरु थप्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको सचिवालय कार्य व्यवस्था समितिको असोज ११ गते बसेको बैठकबाट जिल्ला तहको समायोजन असोज २१ गतेसम्म गर्ने निर्णय बमोजिम पार्टी एकता गरिएको राप्रपाका निवर्तमान सचिव कमलेशकुमार मण्डलले जानकारी दिए ।

पार्टी केन्द्रले ७७ वटै जिल्लाको वडास्तरसम्म पार्टीको झण्डोतोलन तथा चुनाव चिन्ह प्रचार अभियान गर्ने निर्णय बमोजिम निकट भविष्यमै पार्टी निर्माण तथा गठन कार्य हुने उनले बताए । जिल्लामा दुवै पार्टी समायोजन भएपछि नेता र कार्यकर्ताहरु पनि उत्साहित भएको मण्डलले बताए ।

जिल्ला एकता समायोजन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मनोजप्रताप मल्ल, केन्द्रीय सदस्य प्रेक्षा मल्ल, श्रवनकुमार झा, रामनरेश यादव, भूपू केन्द्रीय सदस्य नथुनिलाल दास, प्रमोद गोईनका, प्रदेश सदस्य असर्फी झा, विक्रम पजियार, रामनारायण ठाकुर, दिलिपकुमार साह, कमलेशकुमार मण्डल, रविन्द्रकुमार यादव, गोपीप्रसाद शिवहरे लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ