नेकपा असफल, ओली पतनको बाटोमा : वरिष्ठ नेता महतो

समाचार

1/17/2021

सर्लाही, ४ माघ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालमा कम्युनिष्ट पार्टी असफल भइसकेको तर्क गरेका छन् । उनले नेकपा असफल भयो र ओली पतनको बाटोमा रहेको दाबीसमेत गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन विरुद्धमा मलंगवामा शनिबार आयोजना गरिएको जनप्रदर्शन तथा बिरोध सभालाई सम्बोधन गर्दै नेता महतोले यस्तो बताएका हुन् ।

उनले संसद पुनःस्थापनाबाट पनि मधेशी, जनजाति, थारु, दलित, मुस्लिमलगायत उत्पीडित वर्ग समुदायले अधिकार नपाउने बताउँदै त्यसका लागि राष्ट्रिय मुक्ति आन्दोलन गर्नुपर्ने बताएका थिए ।

‘सबैको लागि संविधान र सबैको अधिकार स्थापनको लागि एउटै विकल्प रहेको छ, आन्दोलन’,– उनले भने ।

लोकतन्त्रको रक्षाको लागि अब हामी फेरि लड्नु पर्ने बेला आएको बताउँदै महतोले भने, ‘हामी लोकतन्त्रको रक्षाका लागि लड्नुपर्छ, अब पनि सचेत भएनौं भने निरंकुशता हाबी हुन्छ ।’

जनप्रदर्शन तथा विरोधसभा कार्यक्रमलाई जसपाका केन्द्रीय कार्यकारणी समिति सदस्य एवम् पूर्वमन्त्री महेन्द्र राय, चन्दा चौधरी, उमाकान्त झा, प्रदेश मन्त्री रामनरेश राय, राष्ट्रिय सभाका पूर्व सदस्य रामपृत पासमान, प्रदेश सभा सदस्यद्वाय अशोक यादव र सञ्चमाया मोक्तान लगायतले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ