जनकपुरधाम, १७ । नेकपा विभाजनको प्रभाव प्रदेश २ मा पनि देखिएको छ । पार्टी विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ को प्रदेश सभामा संसदीय दलका नेता रहेका सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षका संसदीय दलका नेता मण्डललाई दलको नेताबाट हटाउने तयारी भएको छ । प्रचण्ड–नेपाल समूहका प्रदेश सभा सदस्य शत्रुघन महतोका अन्ुुसार दलका नेता मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । ‘आइतबार बैठक बसी उनलाई पदबाट हटाइनेछ,’ ,’ सांसद महतोले भने । कुल ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको उनले जानकारी दिए ।
प्रदेश २ मा नेकपाका ३२ जना प्रदेश सभा सदस्य छन् । यसमध्ये २० जना आफ्ना पक्षमा रहेको प्रचण्ड–नेपाल समूहको दाबी छ ।
‘अविश्वासको प्रस्ताव दर्ता गराउन एक चौथाइ आवश्यक पर्छ तर हामीले आधाभन्दा बढी सांसद हस्ताक्षर गरिसकेका छौं,’ महतोले भने । आइतबार बस्ने संसदीय दलको बैठकमा अविश्वास प्रस्ताव दर्ता हुने र नेता मण्डलले त्यसमा फेस गर्न नसके तत्कालै हटाइने महतोले बताए ।
दर्ता गराइएको अविश्वास प्रस्तावमा प्रदेशसभा सदस्यहरु गोबिन्द बहादुर न्यौपाने, रुबी कर्ण, प्रमिला देवी यादव, रामकुमार यादव, प्रमोदकुमार यादव, अशोक यादव, मदनशेन प्रसाद श्रीवास्तव, जगतप्रसाद यादव, शत्रुघन महतो, भरतप्रसाद साह, मन्जुकुमारी यादव, बेची लुङ्गेली, रविन्द्र बैठा, डिल्लीप्रसाद उप्रेती, हसिमा खातुन, नागेन्द्र राय यादव र सुन्दर बहादुर विश्वकर्माको हस्ताक्षर छ ।
प्रदेशसभा सदस्यहरु सीता गुरुङ र फुलिया देवी सदाय सम्पर्कमै रहेको, तर प्रदेश बाहिर रहेकाले उनीहरुको हस्ताक्षर हुन बाँकी रहेको महतोले बताए ।
नेकपा प्रदेश २ का अध्यक्ष तथा सहरी विकास मन्त्री प्रभु साहले बुधबार वीरगञ्जमा प्रदेश २ को भेला गरेका थिए । ओली समूहमा लागेका साहले आयोजना गरेको त्यस भेलामा मण्डल सहभागी भएका थिए । उनीसँगै प्रदेश सभा सदस्य रामचन्द्र मण्डल र ज्वालाकुमारी साह पनि सहभागी भएका थिए । कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेल थिए ।
तपाईको प्रतिक्रिया