काठमाडौं, ८ असोज । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय राजदूत विनय मोहन क्वात्रासँग भेट गरेका छन् ।
भारतीय राजदूतसँग आफ्नै निवास हरिसिद्धीमा भेट्दा श्रेष्ठले परराष्ट्रको साउथ एसिया डेस्कका टिकाराम उपाध्यायलाई राखेका थिए ।
भारतीय राजदूतसँगको भेटमा आफूले मुख्तया तीन वटा विषयमा जोड दिएको प्रवक्ता श्रेष्ठले बताए ।
‘देशको सार्वभौसत्तालाई, भौगोलिक अखण्डतालाई मान्नु पर्छ, अहस्तक्षेपको नीति लिनुपर्छ । दुई देशको पारस्परिक लाभ र ताजा हितलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्नुपर्छ । एक अर्का देशको संवेदनशिलता र जायज सरोकार छन् र आफ्नो राष्ट्रको हितको विरुद्धमा जाँदैन भने त्यसलाई सम्बोधन गर्न तयार हुनपर्छ’ उनले भने ।
लिपुलेक लिम्पियाधुरा र कालापानीको विषयमा वार्ताका लागि तत्काल तत्परता देखाउन आफूले भनेको श्रेष्ठले बताए । ‘यसलाई उच्च राजनीतिक र कुटनीतिक तहमा तुरुन्तै वार्ता गरेर ऐतिहासिक तथ्य र प्रमाणका आधारमा सम्बोधन गर्नपर्छ’ उनले भने ।
नयाँ सिराबाट नेपाल भारत सम्बन्धलाई लैजानुपर्नेमा आफूले जोड दिएको श्रेष्ठले बताए । दुई देशको बहुआयमिक सम्बन्ध रहेकाले यसलाई उदाहरणीय सम्बन्धको रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया