काठमाडौं, २ कात्तिक । चिनियाँ सरकारी अधिकारीहरुले हुम्लामा नेपाली भूमि नमिचिएको बताउँदै हालै निर्माण गरिएका भवनहरु चिनियाँ भूमिभित्रै रहेको दाबी गरेका छन् । हालै निर्माण भएको नयाँ गाउँ चीनको अलिको बुराङ भन्ने स्थानमा पर्ने उनीहरुले बताएका छन् ।
चिनियाँ सरकारको मुखपत्र दि ग्लोबल टाइम्ससँग बुराङका विदेशी मामिला निर्देशक बकीले मे महिनामा सो भवनहरु निर्माण गर्नुभन्दा पहिला सेना र सर्वेका अधिकारीहरुले सो भवन निर्माण चिनियाँ भूभागभित्र नै बनोस् भनी विस्तृत सर्बे र म्यापिङ गरेको बताएका छन् ।
उनले भनेका छन्, ‘सो भवन पूर्णरुपमा चीनको भूभागभित्र पर्छ र सबैभन्दा नजिकको भवन चीन–नेपाल सीमाभन्दा एक किलोमिटर टाढा रहेको छ ।’ उनले नयाँ गाउँ निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेकोसमेत जानकारी दिएका छन् ।
नेपालमा चीनले सीमा मिचेको विषय उठेपछि चिनियाँ अधिकारीहरुले दोस्रोपटक फिल्ड सर्वे र मापनको काम गरेका थिए । सो टोलीले भवन चीनको बुराङ गाउँमा नै पर्ने निष्कर्ष निकालेको थियो । चिनियाँ सरकारी अधिकारीहरुले सो गाउँ व्यापार बढाउन बनाइरहेको र निर्माण गर्ने समयमा नेपाली अधिकारीहरुसँग कुनै पनि विवाद नभएको उल्लेख गरेका छन् ।
सोही समाचारमा नेपाली कांग्रेस जसले सीमा विवादलाई चर्काइरहेको छ, सो दललाई प्रो–इन्डियन दलको रुपमा लिइने गरेको समेत ग्लोबल टाइम्सले उल्लेख गरेको छ । सो समाचारमा भनिएको छ, ‘भारतको नेपालसँग लामो सीमा विवाद रहेको छ । सन् २०१९ मा भारतले नेपाली समेटेर नक्सा जारी गरेपछि दुई देशको बिचमा विवाद सिर्जना भयो ।’
तपाईको प्रतिक्रिया