नेपालगञ्ज, १७ मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थललाई नेपालको ‘हव एयरपोर्ट’को रुपमा विकास गरिने बताएका छन् ।
नेपालगञ्ज विमानस्थलमा नवनिर्मित विस्तारित विमान पार्किङ क्षेत्रको आज उद्घाटन गर्दै उनले पछिल्लो दिनमा नेपालगञ्ज र विराटनगर विमानस्थललाई प्राथमिकतामा राखेको बताए।
‘दुवै विमानस्थललाई भविष्यमा अन्तर्राष्ट्रिय विमानस्थलको हैसियतमा स्तरोन्नति गर्नुपर्छ भन्ने गुरुयोजना नेपाल सरकारले अघि बढाएको छ’, उनले भने ‘नेपालगञ्ज विमानस्थलमा विस्तारित पार्किङ क्षेत्रले गौरव बढाएको छ ।’
मन्त्री भट्टराईले विस्तारित पार्किङ क्षेत्रमा एटिआर ७२ साइजका कम्तीमा पनि छ वटा जहाज एकसाथ पार्किङ गर्नसक्ने र एयरबस ३२० सम्मका जहाज पार्किङ हुनसक्ने अवस्थामा नेपालगञ्ज विमानस्थल पुगेको बताए ।
सो पार्किङ क्षेत्रको निर्माण कार्य २८ करोड ५३ लाखको लागतमा निर्धारित समयमै सम्पन्न भएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपालगञ्ज नागरिक उड्डयन कार्यालय र निर्माण कम्पनीलाई धन्यवाद दिँदै उनले नेपालगञ्जमा सञ्चालन हुने थप निर्माण कार्य पनि समयमै सम्पन्न हुने अपेक्षा व्यक्त गरे ।
उनले प्रदेशको राजधानी नहुँदैमा नेपालगञ्ज शहरको महत्व नघट्ने बताउँदै राजधानी नबन्दैमा निराश नहुन नेपालगञ्जवासीलाई आग्रह गरे ।
‘नेपालगञ्जले प्रदेशको राजधानीको रुपमा परिचय नपाए पनि प्रदेशको राजधानी भन्दा कम चर्चामा छैन । त्यस हिसाबले नेपालगञ्जको महत्व कम भएको छ जस्तो भलाई लाग्दैन’, मन्त्री भट्टराईले भने ‘किन कि यहाँबाट हुनसक्ने दुईदेशीय व्यापार, पर्यटन आवागमन, उद्योगधन्दा, शैक्षिक क्षेत्रलगायतका कारण यहाँको महत्व कम भएको छैन् ।’
तपाईको प्रतिक्रिया