काठमाडौं, १६ असोज । नेपाल–चीन सिमा विवाद चर्किदै गएपछि त्यस सम्वन्धि जानकारी पाउन नापी विभागमा सूचना माग गरिएको छ ।
राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले सिमानाको विषय उल्लेख गरेर सूचना माग गरेका हुन् । उनले उक्त सूचना अध्ययन प्रयोजनाका लागि माग गरेका हुन् ।
यादवले नापी विभागमा दर्ता गराएको निवेदनमा नेपाल–चीनस्थित २ देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस कोर्डिनेट कति हो?, नेपाल–चीन सीमामा रहेका सीमा स्तम्भहरूको जीपीएस कोर्डिनेट अभिलेख गर्ने काम कुन मितिमा सम्पन भएको हो? र नेपाल–चीन सीमा स्तम्भहरूको पछिल्लो सुपरीवेक्षण कुन मितिमा भएको थियो भन्ने जानकारीको साथै प्रतिवेदन माग गरिएको छ ।
त्यस्तै निवेदनमा सीमा स्तम्भहरूको सुपरीवेक्षण अनुसार कुन कुन सीमा स्तम्भ भेटिएको भन्ने जानकारी माग गरिएको छ ।
हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको विषयमा खोजबिन हुन थालेपछि सीमा विवादको विषय चर्चामा आएको हो । नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा ९ वटा ब्यापारीक भवन वनाएको नेपाली पक्षको आरोप छ ।
तपाईको प्रतिक्रिया