काठमाडौं, १२ मंसिर । काठमाडौंस्थित भारतीय दूतावासले नेपाल तथा भारतका परराष्ट्र सचिवबीच द्विदेशीय सीमासम्बन्धी विषयमा छलफल सुरु भएको बताएको छ । दूतावासले बाँकी खण्डमा सीमासम्बन्धी कार्यहरु सम्पन्न गर्नेबारे आफ्ना विचारहरु साटासाट गरेको जनाएको छ ।
परराष्ट्र सचिव भरतराज पौड्यालको निम्तोमा नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगंलाले आफ्ना औपचारिक र शिष्टाचार भेटवार्ताहरु बिहीबारै टुंग्याएका छन् ।
भ्रमणबारे दूतावासले जारी गरेको विज्ञप्तिमा दुवै देशका परराष्ट्र सचिवले ‘उच्चस्तरीय द्विपक्षीय सम्बन्धमा नयाँ गतिलाई कायम राख्न र दुवै देशहरुबीच परम्परागत रुपमा रहीआएको घनिष्ठ, मैत्रीपूर्ण र बहुपक्षीय साझेदारीलाई अझ मजबुत बनाउन सहमति जुटेको’ जनाइएको छ ।
विदेश सचिव श्रृंगलाले सिंहदरबारमा भएको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय विदेशमन्त्री डा. एस जयशंकरले संयुक्त आयोगको अर्को बैठकमा सहभागी हुन पठाएको निमन्त्रणा दिएकोबारे पनि विज्ञप्तिमा उल्लेख छ ।
गत वर्ष भदौ ४ मा परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बसेयता द्विदेशीय सीमा विवादलगायतका कारण ‘संवादहीनता’को स्थिति रहँदै आएको थियो ।
‘परराष्ट्र मन्त्री ज्ञवाली तथा सचिव पौड्यालसँगको भेटवार्तामा विदेश सचिव श्रृंगलाले द्विपक्षीय सम्पर्कलाई गति प्रदान गर्न, जनता–जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, सारभूत एवम् रणनैतिक द्विपक्षीय पहल र आपसी हितका विषयहरुको ठोस प्रगतिका लागि दुवै पक्षबीच सहमति आवश्यक रहेको कुरामा जोड दिनुभयो,’ विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया