नेपाल–भारत दोस्रो पेट्रोलियम पाइपलाइनको काम सुरु

समाचार

12/3/2020

काठमाडौं, १९ मंसिर । नेपाल आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार हुँदै (क्रस बोर्डर) दोस्रो पेट्रोलियम पाइपलाइन निर्माणको काम अघि बढाएको छ । प्रारम्भिक सर्भेअनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी)को सिलिगुडी डिपोदेखि निगमको झापा, चारआलीस्थित कार्यालयसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याइनेछ ।

यसअघि डेढ वर्षअघिबाट ६९.२ किलोमिटर लामो मोतीहारी–अमलखेगन्ज रुटमा पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको छ । यो पाइपबाट दैनिक ६० हजार लिटरसम्म डिजेल आयात भइरहेको छ । यो परियोजना सफल भएकाले निगम र आइओसी अधिकारीले दोस्रो क्रस बोर्डर पाइपलाइन परियोजना अघि बढाएका हुन ।

सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइनको बारेमा संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले स्थलगत निरीक्षणसमेत गरेको छ । परियोजना प्रमुख तथा निगमका निर्देशक वीरेन्द्रकुमार गोइतले पाइपलाइन बिछ्याउने रुटको पहिचान गर्ने काम सकिन लागेको बताए । उनका अनुसार पाइपलाइनको लम्बाइ करिब ५० किलोमिटर हुने देखिएको छ । यसमध्ये नेपालपट्टि १५ किलोमिटर र भारतपट्टि ३५ किलोमिटर बिछ्याउनुपर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ