काठमाडौं, २६ पुस । नेपाल र भारतबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक माघ पहिलो साता हुने तय भएको छ । बैठक नयाँ दिल्लीमा माघ १ र २ गते हुनेछ ।
त्यसका लागि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली दिल्ली जाने छन् । नेपालमा प्रतिनिधि सभा विघटन पछि आन्तरिक राजनीतिमा उथलपुथल भएपछि परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणमा अन्योल देखिएको थियो ।
नेपालको प्रस्ताव अनुसार नयाँ दिल्लीले पनि माघको पहिलो साता परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक गर्न तयार भएको हो ।
यसअघि मंसिर र त्यसपछि पुसमा उक्त बैठक गर्ने भनिए पनि दुवै पक्षबीच एउटै मितिलाई लिएर सहमति नहुँदा पनि बैठक बस्न नसकेको हो ।
दुवै मुलुकको राजनीतिक तहमा उक्त संयन्त्र बनाउने सहमति भएपछि पहिलो पटक २०४४ सालमा नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बसेको थियो । उक्त आयोग दुई मुलुकबीचका समस्याहरुलाई समाधान गर्न र सम्बन्धलाई थप बलियो बनाउनका लागि अघि बढाइएको हो ।
नेपाल–भारत परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको पाँचौ बैंठक २०५६ को भदौमा काठमाडौंमा बसेको थियो । त्यस गरि तेस्रो बैठक २०७१ को असारमा काठमाडौंमा,चौथो बैठक २०७३ को असोजमा नयाँ दिल्लीमा र दोस्रो बैठक २०४८ साल मंसिरमा नयाँ दिल्लीमा बसेको थियो ।
पाँचौ संयुक्त बैठकमा दुई मुलुक बीचको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन र नेपाल–भारत बीचको सन् १९५० मा भएको सन्धीको बारेमा छलफल भएको थियो ।
तपाईको प्रतिक्रिया