नेपाल–भारत मन्त्रीस्तरीय बैठक हुने

समाचार

11/13/2020

काठमाडौं, २८ कार्तिक । सीमा विवादपछि उत्पन्न गतिरोध अन्त्यका लागि नेपाल–भारतबीच विभिन्न संयन्त्रको बैठक बस्ने तयारी भएको छ । त्यसका लागि काठमाडौं र नयाँदिल्ली आन्तरिक तयारीमा जुटेका छन् ।

दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीहरूले नेपाल–भारत संवादहीनताका कारण रोकिएको मन्त्रीस्तरीय र सचिवस्तरीय बैठकको तयारी गरिरहेका छन् ।

भारतले नेपालसँगको सम्बन्ध थप कसिलो बनाउन भारतीय राजनीतिमा प्रभाव राख्ने मन्त्रीलाई नेपाल भ्रमण गराउनेसमेत तयारी भइरहेको छ । नेपालसँग बिग्रिएको सम्बन्ध सुधार्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाहनामा छिट्टै विश्वासिला र प्रभावशाली मन्त्रीलाई नेपाल भ्रमण गराउने तयारी भएको छ ।

त्यस्तो प्रकारको उच्चस्तरीय राजनीतिक भ्रमण उपयुक्त समयमा छिट्टै गराउने तयारी भएको जनाइएको छ । त्यसअघि हुने सचिव र मन्त्रीस्तरीय बैठकले उक्त उच्चस्तरीय राजनीतिक भ्रमणको वातावरण बनाउने छ ।

पुस ४ गते विवाह पञ्चमीका दिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले भर्चुअल रूपमा जनकपुर–जयनगर रेल सेवाको औपचारिक शुभारम्भ गर्ने तयारी भएको छ ।

मंसिर ११ र १२ (नोभेम्बर) मा काठमाडौमा हुने भनिएको सचिवस्तरीय बैठकलगत्तै डिसेम्बरका लागि मन्त्रीस्तरीय बैठकको तयारी भएको छ । काठमाडौंमा हुने सचिवस्तरीय बैठकका लागि भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला आउने भएका छन् । डिसेम्बरमा हुने भनिएको मन्त्रीस्तरीय बैठक भारतको नयाँदिल्लीमा हुने तयारी भइरहेको छ ।

मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत जानेछन् । दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीहरूले नेपाल–भारत विभिन्न संयन्त्रका बैठकको तयारी भइरहे पनि सचिवस्तरीय र मन्त्रीस्तरीय बैठकको आधिकारिक मिति सार्वजनिक गरेका छैनन् ।

साउन ३१ गते भारतीय स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोनबाट दिएको शुभकामना सन्देशपछि औपचारिक संवाद सुरु भएको हो । प्रधानमन्त्रीको त्यही टेलिफोनले नेपाल–भारतबीच लामो संवादहीनताको अवस्था अन्त्य गराइदिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ