मलंगवा, १ पुस । हुलाकी सडकको स्तरोन्नति र नेपाल–भारत सीमानाका खुलाउनु पर्ने माग राख्दै मलंगवा बन्द गराइएको छ ।
यी दुई मागसहित मंसिर २१ गतेदेखि सर्लाहीमा धर्ना जारी छ । माग पूरा गराउनका लागि सर्वदलीय संघर्ष समिति बनाइएको छ । पूर्वघोषित आन्दोलनको कार्यक्रमअनुसार मंगलबार मलंगवा बजार बन्द गराइएको संघर्ष समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरीले बताए । उनले बुधबार जिल्ला बन्दको समेत घोषण गरिएको जानकारी दिए । बन्दका कारण पसल खुलेका छैनन् भने सार्वजनिक यातायातका साधन पनि चल्न सकेका छैनन् ।
धुलाम्मे हुलाकी सडकको तत्काल स्तरोन्नति हुनपर्ने र मुख्य नाका बाहेक खेतै खेतको बाटो भएर निर्वाध रुपमा आउजाउ भइरहेकाले मुख्य नाका खोलिनुपर्ने मागसहित गत आइतबारबाट सर्लाहीमा आन्दोलन जारी छ । नागरिकको दबाबपछि गत सोमबारबाट नेपालतर्फका नाका बिरामी बोक्ने एम्बुलेन्स, शववाहन र बेहुला बोक्ने गाडीका लागि खोलिए पनि भारतीय पक्षका एसएसबीको अवरोधले सुरु हुन सकेको छैन । मुख्य नाका नखुल्दा अत्यावश्यक कामले वारिपारि गर्नेलाई समस्या भएको छ ।
तपाईको प्रतिक्रिया