बारा, २१ असोज । कोरोना संक्रमणका कारण बारा, पर्सा रौतहट, चितवन र नवलपरासीसँग जोडिएको नेपाल–भारत सीमा क्षेत्र तत्काल खुला नहुने भएको छ । बाराको कलैयामा भारतको बिहार राज्यको पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका सुरक्षा निकायका प्रमुख र ती जिल्लासँग सीमा जोडिएका नेपालका ६ जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सहभागी समन्वय बैठकले उक्त निर्णय गरेको हो ।
बारा, पर्सा रौतहट, चितवन, पूर्वी र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीहरुसहित सुरक्षा निकायका प्रमुख सहभागी बैठकमा कोरोना संक्रमणको अवस्था सामान्य नहुदाँसम्म सीमा खुला नगर्ने निर्णय भएको हो । ‘अहिलेलाई सीमा क्षेत्रमा मान्छेको आवागमनलाई रोकेर नै कोरोना संक्रमण नियन्त्रण गर्ने हामीले सल्लाह गरेका छौं, यो कन्ट्रोल हुने बित्तिकै सीमा खुला भइहाल्छ‚’ चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने, ‘नेपाल भारतको खुला सीमा सदैव रोक्न सक्ने विषय होइन तर अहिलेलाई जोखिम बढी भएकाले मान्छे आवतजावत गर्दा कोरोना बढ्न सक्छ, नियन्त्रण बाहिर जान सक्छ भन्ने हिसावले रोकिएको हो।’ विगतमा ठूला चाडपर्वमा सीमा क्षेत्रका स्थानीयहरु किनमेलका लागि केही सस्तो हुने भएकाले भारतीय बजारमा जाने गर्दथे । यसवर्ष कोरोना संक्रमणको कारण सीमा बन्द छ ।
प्रजिअ भट्टराईका अनुसार समन्वय बैठकले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र कानुनले निषेधित गरेका कुराहरु हुन नदिने समेत निर्णय गरेको छ । भारतको बिहार राज्यमा तेस्रो चरणमा हुन गइरहेको राज्य सभाको निर्वाचनलाई स्वच्छ एवं मर्यादित रुपमा सम्पन्न गर्न तीन दिन सीमा सिल गरी यातायात र मानिसको आवतजावत बन्द गर्ने निर्णयमा भएको छ ।
तपाईको प्रतिक्रिया