काठमाडौं, २७ फागुन । भारतका विदेश सचिव हर्षवद्र्धन श्रींगलाले नेपालले निकट भविष्यमा विद्युत निर्यात सुरु गर्ने विश्वास व्यक्त गरेका छन् ।
भारतीय संस्था ‘रिचर्स एण्ड इन्फरमेसन सिस्टम फर डेभलपिङ कन्ट्रिज’ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
हाल नेपालले भारतबाट सात सय मेगावाट विद्युत् आयात गरिरहेको बताउँदै उनले अब नेपालले विद्युत् निर्यात गर्ने बताए । उनले भारत सरकारको सहयोगमा नेपालको ढल्केवरदेखि भारतको मुजप्फरपुरसम्मको पहिलो उच्च क्षमताको अन्तरदेशीय ट्रान्समिसन लाइन सम्पन्न भइसकेको र यसलाई सन् २०२० मा ४०० केभिमा स्तरोन्नति भएको बताएका छन् ।
अन्य अन्तरदेशीय उच्च क्षमताका ट्रान्समिसन लाइनको पनि परिकल्पना भइरहेको उनले बताए । विदेशसचिव श्रींगलाले हाल सतलज जलविद्युत् निगम लिमिटेडले ९०० मेगावाटको अरूण तेस्रो जलविद्युत् परियोजना निर्माण गरिरहेको र जिएमआरले ९०० मेगावाटको माथिल्लो कर्णली जलविद्युत् परियोजना पनि निर्माण गरिरहेको बताएका छन् ।
माथिल्लो कर्णाली परियोजना निर्यातमा आधारित परियोजना भएको बताउँदै उनले यसबाट भारत र बंगलादेशमा विद्युत् निर्यात हुने बताए । उनले भुटान बंगलादेश, नेपाल, म्यानमार र भारतलाई ऊर्जा हब बनाउने क्षेत्रमा काम गरिरहेको बताएका छन् ।
श्रींगलाले सम्बोधनका क्रममा भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रेलियम पदार्थसम्बन्धी पाइपलाइन निर्माण गरेको र हाल उक्त परियोजनालाई चितवनसम्म विस्तार गर्ने र भारतको सिलगुढी हुँदै नेपालको झापासम्मको नयाँ पाइपलाइन निर्माणबारेमा तयारी भइरहेको बताएका छन् ।
तपाईको प्रतिक्रिया