काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् । नेपालले आफ्नो हितलाई ध्यानमा राखेर भारत र चीनसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने उनको भनाई छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले भने,‘चीनको विरोध, भारतको समर्थन, चीनको समर्थन र भारतको विरोध भन्ने कुरा सुनिएपनि नेपालले आफ्नो राष्ट्रिय हितको लागि दुवै देशसँग समुधुर सम्बन्ध राख्नुपर्छ ।’ उनले नेपालले भौगोलिक अखण्डता र आफ्नो सार्वभौमिकतालाई सन्तुलनमा राख्दै सुमधुर सम्बन्ध राख्नुपर्ने बताए ।
त्यस्तै, चीनसँग पनि नेपालको सीमा विवाद रहेको उनले उल्लेख गरे । महतले भने,‘हुम्लामा पहिलेका खम्बाहरु, पिल्लर सारिएका छन् भन्ने यता र उता चर्चामा आएका छन् । यसबारेमा निष्पक्ष ढंगले विज्ञहरु बसेर हेर्नुपर्छ ।’ भारतसँगको सिमाना पनि टुँगो लगाउनुपर्नेमा उनले जोड दिए । महतले नेपाल र भारतबीच जे/जति विवादका विषयहरु छन् सबै हल गर्नुपर्नेमा जोड दिए ।
उनले चीनसँग सम्बन्ध बनायो भने भारतको मूल्यमा चीनसँग, चीनको मूल्यमा भारतसँग भन्ने त्यो हुन नहुने बताए । ‘दुवैसँग सन्तुलित र राम्रो सम्बन्ध हुनुपर्छ,’ उनले जोड दिए ।
उनले भारत र चीनको सम्बन्ध सुधार गर्न पनि नेपालले पनि भूमिका खेल्न सक्ने बताएए ।
महतले थपे,‘भारत र चीनबीच आर्थिक सम्बन्धको लागि नेपालले प्रभावकारी भूमिका खेल्न सक्छ, व्यापार सम्बन्ध बढाउनको लागि नेपाललाई एउटा ब्रिजको रुपमा अघि बढाउन सकिन्छ । भविष्यमा पनि दुई देशबीचको सम्बन्ध, अझै सुदृढ हुनुपर्छ । नेपालको परराष्ट्र नीति पनि त्यही ढंगले अघि बढाउनुपर्छ ।’
तपाईको प्रतिक्रिया