नेपालसँगको व्यापारमा चीन असहयोगी

समाचार

9/21/2020

काठमाडौं, ५ असोज । नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको छ । चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमानाका बन्द गरेर असहयोग गरेको हो ।

नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीनले नेपालसँगको व्यापारमा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्नुपर्नेमा उल्टै दुई प्रमुख व्यापारिक सीमानाका बन्द गरेको छ । उसले रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाली व्यापारीलाई अर्बौ रुपैयाँ नोक्सानी भएको छ । सामान आयात–निर्यात बाधा भएको छ ।

नेपाल हिमालयन सीमापार वाणिज्य संघका अनुसार चीनबाट नेपाल आउन लागेका विभिन्न सामानसहितका १२ सय कन्टेनर सात महिनादेखि तिब्बतको केरुङमा रोकिएका छन् । तातोपानी नाकाबाट आउने करिब दुई सय कन्टेनर पनि चिनियाँ भूमिमा रोकिएका छन् । चीनबाट नेपालमा वार्षिक करिब दुई खर्ब रुपैयाँका सामान आयात हुन्छ । पोहोर चीनबाट एक खर्ब ८१ अर्ब रुपैयाँको सामान आयात भएको थियो । नेपालबाट एक अर्ब १९ करोड रुपैयाँका सामान चीनतर्फ निर्यात भएको थियो । चीनसँग नेपालको एक खर्ब ८० अर्ब व्यापार घाटा छ ।

अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्न दुई पक्षीय सहमति आवश्यक पर्ने भए पनि चीनले एकपक्षीय रुपमा बन्द गरेको हो । चीनले सीमानाका बन्द गरेको यो पहिलोपटक भने होइन । चीनले अहिले सीमानाका बन्द हुनुमा कोभिड १९ महामारीलाई बहाना बनाएको छ ।

नेपाली व्यापारीले लत्ताकपडा, फर्निचर, कच्चा पदार्थ, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान, रेडिमेड गार्मेन्ट, जुत्ता–चप्पललगायत चीनबाट आयात गर्छन् । चीनबाट पानी जहाज हुँदै भारत भएर नेपालमा सामान ल्याउँदा ४०÷४२ दिन लाग्छ । कुनै अवरोध नभए तातोपानी र केरुङबाट ल्याउँदा २०÷२२ दिनमै सामान आइपुग्छ ।

कोरोना संक्रमणका बेला नेपाल र भारतले मानिस आवतजावत रोके पनि सामान आयात–निर्यात भने निर्वाध रुपमा भइरहेको छ । चीनले नाका बन्द गर्दा सरकार मूकदर्शक भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ