काठमाडौं, १ असोज । भारतले अतिक्रमण गरेको नेपालका लिम्पियाधुरा, लिपुलेक तथा कालापानी र त्यसवरपरका क्षेत्रमा स्थल तथा वायु सेनाको उपस्थितिलाई अझै बढाउनका लागि तयारी तीव्र पारेको छ ।
भारतले सो क्षेत्रमा आफ्नो उपस्थिति सशक्त पार्ने योजनाका साथ नेपालसँग सीमा जोडिएको पिथौरागढसहित तीन जिल्लामा एयर डिफेन्स (हवाई प्रतिरक्षा) राडार स्थापना गर्न लागेको हो ।
भारतीय सञ्चार माध्यमहरुले नेपाल र चीनसँग तनाव बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै त्यहाँको सरकारले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पूर्वाधारलाई सशक्तिकरण गर्न लागेको जनाएका छन् ।
‘राज्य सरकारले स्थल सेना र वायु सेनालाई यी पहाडी राज्य (उत्तराखण्ड)को सञ्चालन कार्यमा सहयोग पुग्ने गरी महत्वपूर्ण निर्णयहरु लिएको छ,’ इन्डियन एक्सप्रेसले लेखेको छ । १३ जिल्ला रहेको उत्तराखण्डका पिथौरागढ, उदिमसिंह नगर र चम्पावतको सीमा नेपालसँग जोडिन्छ ।
त्यसैगरी थप दुई राडारहरु चीनसँग सीमा जोडिएको चमोली र उत्तरकाशीमा राख्ने योजना बनाइएको छ । पिथौरागढले नेपाल र चीन दुवैको सीमा छुन्छ । नेपाल र भारतको उत्तराखण्डबीच २ सय ७५ किलोमिटर लामो सीमा जोडिएको छ ।
इन्डियन एक्सप्रेसकाअनुसार उत्तरखण्ड राज्य सरकारले वायु प्रतिरक्षा राडार मात्रै नभएर एन्डभान्स्ड ल्यान्डिङ ग्राउन्डका लागि भारतीय वायु सेनालाई जमिन उपलब्ध गराउने भएको छ ।
यसैबीच, उत्तराखण्ड राज्य सरकारले नेपाल र चीनसँग सीमा जोडिएको गाउँमा दूरसञ्चार टावर निर्माण गर्ने कम्पनीहरुलाई ४० लाख भारतीय रुपैया अनुदान दिने जनाएको छ ।
राज्य सरकारले मोवाइल र इन्टरनेटको सुविधा नपुगेका सीमा क्षेत्रस्थित ४ सय ३८ वटा गाउँमा यस्तो अनुदान दिन लागेको हो ।
त्यसका लागि राज्य सरकारले दूरसञ्चार कानुन समेत संशोधन गरेको छ ।
तपाईको प्रतिक्रिया