नेपालसँग नयाँ सन्दर्भमा अगाडि बढ्नुपर्छ : भारतका पूर्व राजदूत रे

समाचार

11/25/2020

काठमाडौं, १० मंसिर । नेपालका लागि भारत पूर्व राजदूत रञ्जित रेले भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगलाको नेपाल भ्रमणको क्रममा सीमा विवाद, ईपीजी प्रतिवेदन र विकासका ठूला परियोजनालाई अगाडि बढाउने विषयमा ठोस कुराकानी हुनुपर्ने सुझाव दिएका छन् ।

श्रींगला मंसिर ११ गते नेपालको औपचारिक भ्रमणमा आउँदैन् । एसियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल रिलेसेन (एआईडीआईए) ले भारतको विवेकानन्द इन्टरनेसनल फाउन्डेसनसँगको सहकार्यमा आयोजना गरेको नेपाल–भारत सम्बन्ध विषयक वेबिनारमा बोल्दै उनले भने,‘नेपालले नयाँ नक्सा जारी गरेर संविधानसमेत संशोधन गरिसकेको छ, यस सन्दर्भमा अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा छलफल हुन आवश्यक छ ।’

रेले भने,‘नेपाल–भारत प्रवुद्ध समूह( ईपीजी) ले आफ्नो प्रतिवेदन तयार पारेको दुई वर्ष भइसकेको छ तर प्रतिवेदन बुझ्ने काम भएको छैन । भारतले प्रतिवेदन नबुझनुको कारण नेपालाई ब्याख्या गर्नुपर्छ । नेपालले सन् १९५० को सन्धि पुनरावलोकनको विषय पनि उठाएको छ । यस विषयमा पनि छलफल पनि कुराकानी गर्दा राम्रो हुन्छ ।’

पूर्वराजदूत रेले विदेश सचिवको भ्रमणको समयमा पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप दिने विषयमा समेत छलफल हुनुपर्ने बताए । उनले भने,‘परराष्ट्र सचिवको भ्रमणमा यस विषयमा केही प्रगति गरेर छिट्टै हुने परराष्ट्रमन्त्रीको वैठकमा यसलाई अगाडि बढाउने घोषणा गर्नुपर्छ ।’

नेपाल कम्युनिष्ट पार्टीका नेता दीपकप्रकाश भट्टले दुई देशको बीचमा रहेका ठूला समस्याहरु समाधान हुन नसकेको बताए । उनले ईपीजी प्रतिवेदन बुझ्न नसक्ने हो भने त्यसको कारण जनतालाई बताउनुपर्ने धारणा राखे । उनले यस विषयमा टेवलमा वार्ता गर्नुपर्नेमा जोड दिए ।

पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले द्विपक्षीय योजनाको कार्यान्वयन प्रक्रिया एकदमै ढिलो हुने गरेकाले त्यसमा ध्यान दिनुपर्ने बताए । उनले केही वर्ष अगाडिसम्म भारत नेपालमा सबैभन्दा प्रत्यक्ष लगानी प्रवाह गर्ने मुलुक भएपनि अहिले भारतलाई चीनले उछिनेको बताए । नेपालमा भारतलगायत अन्य मुलुकबाट वैदेशिक लगानी भित्र्याउनका लागि पहल गर्नुपर्ने बताए ।


नेपाली सेनाका पूर्व प्रधान सेनापति रुक्माङ्गत कटवालले नेपाल र भारत वार्ता र कुराकानी नगरी बस्न नसक्ने बताए । उनले यतिवेला नेपाल–भारत सम्बन्धमा अविश्वास र आशंका हावी भएको बताउँदै त्यसको खोजी गर्नुपर्ने बताए । उनले भने,’नेपाल र भारतको बीचमा अविश्वास सिर्जना हुनुको कारण के हो, त्यसको राम्रोसँग पहिचान गर्नुपर्छ र त्यसको राम्रो उपचार पनि गर्नुपर्छ ।’ उनले ईपीजीले प्रतिवेदन तयार पारेको दुई वर्ष हुँदा पनि भारतले किन बुझ्न नमानेको भनी प्रश्न गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ