नेपाली भूमिमा भवन भनेको छैन : चीन

समाचार

9/23/2020

काठमाडौं, ७ असोज । हुम्लाको लाप्चामा पर्ने नेपाली भूमिमा चीनले अतिक्रमण गरेर भवन बनाएका समाचारहरूमा सत्यता नभएको चीनले दाबी गरेको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले मंगलबार राति जारी गरेको विज्ञप्तिमा चीनले भवन बनाएको भूभाग चीनकै रहेको र यसबारे नेपालले थप प्रमाणीकरण गर्न सक्ने उल्लेख छ ।

दूतावासले चीन र नेपालबीच कतै पनि सीमा विवाद नरहेको पनि प्रष्ट्याएको छ । चीनले सधै नेपालको सम्प्रभूता र क्षेत्रीय अखण्डताको सम्मान गर्नेसमेत विज्ञप्तिमा प्रतिबद्धता जनाइएको छ ।

दूतावासले नेपाल–चीन निकटका छिमेकी हुन् भन्दै नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको जनाएको छ ।

‘चीन र नेपाल मित्रवत् छिमेकीहरू हुन् । चीनले सधैँ नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको छ,’ नेपालस्थित चिनियाँ दूताबासका लुआन सिउतानले जारी गरेको नोटमा भनिएको छ, ‘सञ्चार माध्यमले उल्लेख गरेका भवनहरू नेपाल(चीन सीमाको चिनियाँ खण्डमा रहेको कुरा प्रमाणित भएको छ ।’

लुआनले अगाडि भनेका छन्, ‘नेपाली पक्षले यसको पुनः परीक्षण गर्न पनि सक्छ । नेपाल र चीनबीच कुनै भौगोलिक विवाद छैन । सीमा मामिलामा दुबै पक्षले निकटरूपमा सञ्चार सम्बन्ध कायम गरेका छन् ।’

हुम्लाको नाम्खा गाउँपालिका ६ को लाप्चास्थित ललुङजम क्षेत्रमा नेपालीले समेत भोगचलन गर्दै आएको क्षेत्रमा चीनले भवनहरू बनाएको खबरपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वको टोलीले स्थलगत अवलोकन पनि गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ