काठमाडौं, ५ माघ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले निष्पक्ष निर्वाचन गराउन सरकार र निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
सोमबार सिरहाको लहागनमा जनमत पार्टीले आयोजना गरेको बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै डा.राउतले यस्तो आग्रह गरेका हुन् ।
सरकारले घोषणा गरेको निर्वाचनका लागि जनमत पार्टी तयार रहेको भन्दै निर्वाचनको तयारीमा जुट्न डा.राउतले निर्देशनसमेत दिएका छन् ।
संसद विघटनविरुद्ध अहिले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकोले सर्वोच्चको निर्णयलाई आफूहरु पर्खेको बताउँदै जहिले पनि निर्वाचन हुँदा आफूहरु सशक्तरुपमा प्रस्तुत हुने बताएका छन् ।
‘निर्वाचन ३ महिना, ६ महिना, एक वर्ष, डेढ वर्ष जहिले भएपनि अब सबैले लाउडस्पिकर छापमा मोहर लगाएर जनता राज कायम गराउनुपर्छ,’ उनले भने, ‘सरकारले निष्पक्ष निर्वाचन गराउने कुरा गर्नुपर्छ ।’
निर्वाचन निष्पक्ष हुनुपर्ने माग गर्दै आफूहरु निर्वाचनका लागि तयारी गर्न घरदैलो जाने, जनतालाई बुझाउने र जनता राज ल्याउने दाबी गरेका छन् ।
जनता राजमा घर–घरमा रोजगारी दिने, शिक्षा, स्वास्थ्यको प्रबन्ध मिलाइने र समाजवाद लागू गर्ने डा.राउतले बताए ।
तपाईको प्रतिक्रिया