सर्लाही, २२ माघ । नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य एवम् सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको दुर्घटनामा मृत्यु भएको छ ।
बरहथबाबाट नयाँरोडतर्फ आउँदै गर्दा मूर्तिया चोकबाट केही सय मिटर उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा लडिरहेको अवस्थामा वाग्ले शव प्रहरीले फेला परेको हो ।
प्रहरीका अनुसार वाग्ले ज १० प ३२०६ नम्बरको मोटरसाईकलमा बरहथवाबाट नयाँरोडतर्फ आउँदै थिए । बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा चिकित्सकले वाग्लेको मृत्यु भइसकेको बताएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक उद्यव सिंह भाटले जानकारी दिए ।
भाटका अनुसार प्रहरी टोली घटनास्थल पुग्दा वाग्लेको टाउकोमा हेल्मेट र आँखामा चश्मा थियो ।
नेकपा जिल्ला अध्यक्ष रेवती पन्तका अनुसार वाग्ले बुधबार दिउँसो बरहथवामा पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकमा सहभागी भई पार्टीले नै बुधबार साँझ आयोजना गरेको मसाल जुलुसको नेतृत्व गर्न बरहथवामा बसेका थिए ।
पन्तका अनुसार उक्त मसाल जुलुस सम्पन्न गरेर नयाँरोडतर्फ फर्किने क्रममा वाग्ले मोटरसाईकल दुर्घटनामा परेका हुन् । वाग्ले संघीय संसद् विघटन प्रकरण पश्चात प्रचण्ड–नेपाल समूहमा सक्रिय थिए । वाग्ले हरिपुर नगरपालिका–१, हजारबिगाह निवासी हुन् ।
तपाईको प्रतिक्रिया