प्रचण्ड–नेपाल समूहले देखायो क्रुरता

समाचार

2/4/2021

विराटनगर, २२ माघ । प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल अराजक बनेको छ । उक्त समूहले विराटनगरमा चियानास्ता पसलमा काम गरिरहेका आमा र छोरीमाथि उम्लिइरहेको तातो तेल खन्याइ दिएको छ ।

दाहाल–नेपाल समूहका नाममा घटाइएको क्रुरतापूर्ण घटनामा परेर उनीहरु घाइते भएका छन् ।

विराटनगर महानगरपालिका–२ मा रहेको आफनै खाजा पसलमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुले अराजकता र क्रुरता प्रदर्शन गरेका हुन ।

उनीहरुले बन्दमा पसल किन खोलेको भन्दै आमा र छोरीमाथि तातो तेल खन्याइदिएका हुन् ।

समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल खन्याउँदा पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनी सामान्य घाइते भएका छन् । पसलमा काम गरिरहेका बेला एक्कासि आएको समूहले उनीहरुमाथि तेल खन्याइदिएका थिए ।

उम्लिइरहेको तेल खन्याइदिएपछि आमा–छोरीको शरीरका विभिन्न भागमा घाउ भएको छ । घाइतेमध्ये बविता ६ महिनाकी सुत्केरी हुन् ।

विराटनगर महानगरपालिका कार्यालयको गेट नै अगाडि रहेको चियानास्ता पसल किन बन्द नगरेको भन्दै निहुँ खोजेर आएको समूहले पसल सञ्चालक ४८ वर्षीय सहनीलाई पनि लाट्ठी, मुक्का र लात्ताले कुटपिट गरेका हुन ।

तोडफोडबाट पसलमा रहेको सोकेसको सिसा फुटेका छन्। पसलमा बनिसकेका खानेकुरा फ्यालिदिनुका साथै पसलका भाँडावर्तन पनि त्यो समूहले फ्याँक्ने र कुच्याइ दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ