प्रादेशिक अस्पताललाई कोरोना अस्पताल बनाउन लागेकोप्रति आपत्ति

समाचार

8/24/2020

काठमाडौं, ८ भाद्र । प्रदेश २ को प्रादेशिक अस्पताललाई कोरोना अस्पताल बनाउन लागेको भन्दै जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष डा.मनोज मुक्ति ‘विवेक’ले आपत्ति जनाएका छन् ।

डा.मुक्तिले सोमबार एक प्रेस नोट जारी गर्दै भनेका छन्, ‘प्रदेश नं २ सरकारको विश्वस्त उच्च तहबाट प्राप्त जानकारी अनुसार प्रदेश सरकारसँग प्रशस्तै बिकल्पहरु हुँदाहुँदै बिकल्पहरुमा कुनै ध्यान नै नदिई जनकपुर प्रादेशिक अस्पताललाई प्रादेशिक कोरोना अस्पताल“ को रुपमा रुपान्तरण गर्न लागेको सूचनाले स्तब्ध भएका छौँ ।’

जनकपुर प्रादेशिक अस्पताल जुन प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको एकदमै घना वस्तीमा अवस्थित छ र प्रदेश नं. २ का गरिव, निमुखा, असहाय, विपन्न एवं एकदमै निम्न आय भएका बर्गको एकमात्र स्वास्थ उपचारको प्रमुख थलोको रुपमा परिचित रहेको सर्वविदित नै छ र प्रदेश सरकारको यस्तो गैरजिम्मेवार एवं अमानवीय निर्णयले ती वर्गका जनताको स्वास्थमा प्रत्यक्ष नकारात्मक असर पर्ने निश्चित देखिने उनले दाबी गरेका छन् ।

राष्ट्रिय जनतान्त्रिक गठबन्धनका संयोजकसमेत रहेका डा.मुक्तिले यस्ता जनतामारा निर्णय नगर्न नगराउन प्रदेश सरकार र जनता समाजवादी पार्टीसँग माग गरेका थिए ।

साथै उनले एक परिवार एक पीसीआर टेस्टको पनि माग गर्नुको साथसाथै उक्त घृणित जनतामारा कुकृत्यको विरुद्ध प्रदेश नं २ का सम्पूर्ण बुद्धिजीवी, समाजसेवी, संचारकर्मी, अधिकारकर्मी, नागरिक समाज, सामाजिक संघ(संस्था लगायत सम्पूर्ण आम जनतालाई ससक्त प्रतिवाद र प्रतिकारमा उत्रन आह्वान गरेका छन् ।

जहाँ कोरोनाबाट आक्रान्त सम्पूर्ण विश्व आ(आफ्नो देशका जनतालाई क्षमताले भ्याएसम्म सुरक्षा एवं राहत दिन अभ्यस्त देखिन्छ त्यही हाम्रो देशमा राज्य(सत्ताको तिनवटै तह (संघीय सरकार, प्रदेश सरकारहरु र स्थानीय सरकारहरु) कोरोनालाई लूटखसोट अवसरमा परिणत गरि “कोरोना व्यापार“ मा अभ्यस्त रहेको एवं जनघाती कुकार्यहरुमा लिप्त रहेको आरोपसमेत लगाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ