प्रदेशस्तरीय भलिबलको उपाधि धनुषालाई

समाचार

3/17/2021

मलंगवा, ४ चैत । सर्लाहीको हरिपुर ७ चिताईनमा जारी तेस्रो प्रदेश २ स्तरीय भलिबल प्रतियोगिताको उपाधि धनुषाले चुमेको छ । हरिपुर नगरपालिका र लक्ष्मीनाथ महादेव विकास समितिले संयुक्तरुपमा महाशिवरात्रिको अवसरमा आयोजना गरेको प्रतियोगितामा धनुषाले नवलपुर जिल्लालाई हराउँदै उपाधि जितेका छन् । फाइनल खेलमा धनुषाले नवलपुरलाई ३–० को सिधा सेटमा पराजित गरेको छ ।

पहिलो सेट २५–२२, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२३ ले जितेको खेलकुद समितिका सदस्य चेतनारायण धामीले जानकारी दिए । जितसँगै धनुषाले नगद ५० हजारसहित विजेताको कप हात पारेको छ ।

उपविजेता बनेका नवलपुरले ३० हजारमा चित बुझाएका छन् । प्रतियोगितामा सर्लाहीको तर्फबाट राम्रो खेल्ने खेलाडीलाई मनोज आचार्य फाउन्डेशनको तर्फबाट ३० हजार समेत प्रदान गरिएको छ ।

प्रतियोगिताका म्यान अफ द सिरिज धनुषाको सरोज हायु, बेष्ट लिफ्टर धनुषाको बिनय यादव, बेष्ट ब्लकर धनुषाको रोशन यादव, बेष्ट लिबेरो नवलपुरका रामनिवास चौधरी, बेष्ट स्पाइकर नवलपुरका महेश चौधरी र सर्लाहीका सर्वोत्कृष्ट खेलाडी लक्ष्मीनाथ युवा क्लवका धिरेन्द्र चौधरी भएका छन् ।

धिरेन्द्रलाई प्रशिक्षण लिनका लागि प्रत्येक महिना ५ हजारको दरले मनोज आचार्य फाउन्डेशनले ३० हजार प्रदान गरिएको छ ।

धनुषाले नेपाल प्रदेश प्रहरीलाई र नवलपुरले आयोजक लक्ष्मीनाथ युवा क्लबलाई हराएर फाइनलको यात्रा तय गरेको थियो ।

चैत्र २८ गतेदेखि सुरु भएको प्रतियोगितामा सर्लाहीका ५ टिम सहित १२ टिमको सहभागित रहेको थियो । सप्तरी, धनुषा, महोत्तरीका दई, रौतहट, प्रदेश नेपाल प्रहरी र सर्लाहीको ५ ओटा टिमको सहभागिता रहेको थियो । बिगत १३ वर्षदेखि महाशिवरात्रिको अवसरमा चिताईनमा भलिबल प्रतियोगिता हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ