प्रदेश लोकसेवा आयोगलाई मधेशी कर्मचारी मञ्चको ज्ञापन

समाचार

12/13/2020

जनकपुरधाम, २८ मंसिर । नेपाल मधेशी निजामती कर्मचारी मञ्चले प्रदेश २ को लोक सेवा आयोगलाई ज्ञापन पत्र बुझाएको छ ।

आइतबार जनकपुरधामस्थित प्रदेश २ को लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र यादवलाई मञ्चका महासचिवसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

प्रदेश लोक सेवा आयोगको सूचना नं. १–२०७७–०७८ बमोजिम गत मंसिर २५ मा प्रकाशित ईन्जिनियरीङ्ग सेवा, ईन्जिनियर पदको विज्ञापन उपर मञ्चको गम्भिर ध्यानाकर्षण भएको छ ।

यस प्रदेशको प्रदेश निजामती सेवा ऐन आइनसकेको वर्तमान अवस्थामा विद्यमान निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५१ तथा समायोजन ऐन, २०७५ ले गरेको व्यवस्था विपरीत भएको उपरोक्त विज्ञापन आफैमा त्रुटीपुर्ण र हचुवामा आधारित रहेको मञ्चको ठहर छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘निजामती सेवाका कुनै पनि सेवा, समूह र पदको विज्ञापन हुँदा कानुनतः परिभाषित खुल्ला तथा बढुवाको विज्ञापन सँगसँगै हुने गरेको देखिन्छ । तर प्रदेश सरकारको प्रथम भनिएको उपरोक्त विज्ञापनमा बढुवाको विज्ञापनलाई नदरअन्दाज गरी मात्र खुल्लाको विज्ञापन भएको देखिन्छ ।’

संघीयता कार्यान्वयन पश्चात केन्द्रीय लोकसेवा आयोगले स्थानीय तहका लागि केही वर्ष अगाडी मात्र गरेको विज्ञापनमा अधिकृत छैठौ तहलाई अधिकृतको ईन्ट्रीप्वाईन्ट मानी विज्ञापन गरेकोमा यस प्रदेशको लोकसेवा आयोगले सातौ तहलाई अधिकृत ईन्ट्रीप्वाईन्ट रुपमा विज्ञापन गर्नुको आधार के हो भनी मञ्चले प्रश्न उठाएको छ ।

अतः प्रदेश सरकारले हालै गरेको उपरोक्त अनुसारको विज्ञापनमा बढुवा समेतको पद खुलाई कार्यतालिका बनाई सच्याएर पुनः विज्ञापन गर्न मञ्चले माग गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ