जनकपुरधाम, ८ भाद्र । प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य तथा युवा नेता विदेश्वर यादव (बिक्की)ले प्रदेश सरकारको कडा आलोचना गरेका छन् ।
आफ्नै पार्टीको सरकार भएपनि त्यसको विरुद्ध आन्दोलन गर्न बाध्यात्मक अवस्थाको सिर्जना हुन थालेको उनले बताएका छन् ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रण कार्यमा प्रदेश सरकारको तयारी हेर्दा लज्जित र आक्रोशित बनाएको बताउँछन् । ‘बिना प्लानिङ हचुवाको भरमा गरिएको निर्णयको कारण न त स्थानीय निकायसँग प्रभावकारी समन्वय हुन सक्यो न त क्वारेन्टाइन, आइसोलेसनका व्यवस्थापन हुन सक्यो ।’ उनले मधेशवाणीलाई भने ।
अस्पतालहरुको अवस्था अव्यवस्थित र अति नै दयनीय रहेको उनको गुनासो छ । उनी भन्छन्, ‘राजविराज अस्पतालमा महिनौंदेखि राखिएको भेन्टिलेटर जडान हुन सकेको छैन । उपचार नपाएर जनता छट्पटाइरहेको, दैनिक रुपमा ज्यान गुमाउनु परेको अबस्था छ, यो त गैरजिम्मेवारीपनको प्रकाष्ठा हो ।’
स्वास्थ सेवा पाउनु जनताको नैसर्गिक अधिकार हो भने जनताको ज्यानको सुरक्षा दिनु प्रदेश सरकारको जिम्मेवारी र कर्तव्य हो ।
‘प्रदेश सरकार र मधेशी जनताले केन्द्र सरकार (ओलि सरकार) बाट सहयोगको आशा गर्नु मुर्खता मात्रै हुनेछ, किनभने केन्द्र सरकारका निर्णयहरु सधैं मधेश र मधेशी जनताको विरुद्धमा रहने गरेको छ ।’ उनले संघीय सरकारलाई गाली गरेर आफ्नो दायित्वबाट प्रदेश सरकार पन्छिरहेको आरोप लगाउँछन् ।
‘त्यसैले प्रदेश सरकारले आफ्नो बलबुतामा मधेशी जनताको ज्यूज्यानलाई पहिलो प्राथमिकता राखि विकासे कार्यक्रम तत्काल स्थगित गरि कोरोना महामारीबाट प्रदेशका जनतालाई जोगाउन अस्पतालहरुमा भेन्टिलेटर, पीसीआर मेसिन, आइसोलेसन, कोराइनटाइनको व्यवस्थापनका साथै स्थानीय निकायसँग प्रभाजकारी समन्वय गरी पीसीआर जाँचको दायरा बढाइ प्रदेश २ का जनतालाई अविलम्ब उपचारका व्यवस्थापन गर्न विनम्र अनुरोध गर्द्छु ।’ उनले भने ।
होइन भने जनताको रक्षाका लागि आफ्नै सरकारविरुद्ध आन्दोलन गर्न बाध्य हुनु नपरोस् भनी चेतावनीसमेत दिएका छन् ।
तपाईको प्रतिक्रिया