जनकपुरधाम, १५ मंसिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र रहेका सम्पूर्ण धार्मिक तथा साँस्कृतिक धरोहरहरुको संरक्षण गरिने बताएका छन् ।
मैथिली भाषाका महाकवि विद्यापतिको डिहस्थित पोखरी सौन्दर्यकरण कार्यक्रमको शिलान्यास गर्न पुगेका मुख्यमन्त्री राउतले धार्मिक, साँस्कृतिक सम्पदाहरुको संरक्षण गर्न आफूहरु अग्रसर रहेको बताए ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको पिपरा गाउँपालिका बनौलीमा रहेको विद्यापति डिहस्थित रहेको लक्ष्मीसागर पोखरी सौन्दर्यीकरणको शिलान्यास गर्दै मुख्यमन्त्री राउतले पहिचानको आन्दोलनको बलमा स्थापित प्रदेश सरकार प्रदेशभित्रको धार्मिक, सांस्कृतिक सम्पदाहरुको संरक्षणमा कुनै कसर बाँकी नराख्ने दावी गरे ।
जानकी मन्दिरको सौन्दर्यीकरणबाट अभियानको सुरुवात गरेको प्रदेश सरकारले महोत्तरीको विद्यापति डिह, रौजा मजार, सप्तरीको छिन्नमस्ता भगवती लगायतका धार्मिक साँस्कृतिक सम्पदाहरुको संरक्षणमा काम गर्दै आएको मुख्यमन्त्री राउतले बताए ।
उनले केही संघसंस्थाले धनुषामा मात्र विद्यापतिको स्मृति दिवस मनाउँदै आएकोमा आगामी वर्षदेखि प्रदेश सरकारले प्रदेशको आठवटै जिल्लामा मनाउने घोषणासमेत गरेका छन् ।
महोत्तरीको बनौली विद्यापति डिहस्थित लक्ष्मीसागर पोखरी सौन्दर्यीकरणको लागि १२ करोड ७२ लाख रुपैयाँको योजना रहेकोमा ८ करोडको टेन्डर मात्र यस वर्ष भएको र बाँकी आगामी वर्षको योजनामा काम गरिने छ ।
तपाईको प्रतिक्रिया