जनकपुरधाम, २६ फागुन । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले प्रमाणिकरणको लागि पठाइएका दुईवटा विधेयक फिर्ता पठाएका छन् । प्रदेश प्रमुख झाले स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक फिर्ता पठाएका हुन् ।
सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक पारित गराएर प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । तर त्यस विधेयकमा मातृत्व सुरक्षा लगायतका विषय वस्तुहरु नसमेटिएका कारण आवश्यक सुझावसहित परिमार्जन गरेर विधेयक ल्याउन भन्दै प्रदेशसभामा फिर्ता पठाइएको छ ।
त्यस्तै प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक पारित गराएर प्रमाणीकरणको लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएकोमा त्यसमा किसान लगायतलाई पदक दिने व्यवस्था नगरिएको कारणले त्यसमा समेत सुझावसहित प्रदेशसभालाई विधेयक फिर्ता पठाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश भित्र विशिष्ठ योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्नका लागि प्रदेश सरकारले पदक प्रदान गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्नका लागि विधेयक निर्माण गरेको थियो ।
सरकारले यसै चालु आर्थिक वर्षमा पदक बाँड्नका लागि करिब १० लाख रुपैयाँ विनियोजन समेत गरेको थियो । विधेयकमा प्रदेश स्थापनाको पहिला नै नाम घोषणा गरि स्थापनाको दिन फागुन ३ गते पदक दिने गरि विधेयक प्रदेशसभाबाट पास गराइएको थियो ।
प्रदेश २ मा अहिले सम्म ३९ वटा विधेयक प्रमाणीकरण भएर ऐन बनेको छ । यद्यपी अधिकांश ऐन संघीय ऐनको अभावमा कार्यान्वयनमा आउन सकेका छैनन् ।
तपाईको प्रतिक्रिया