प्रदेश २ मा निजी अस्पताललाई कोरोना उपचारमा प्रयोग गरिने

समाचार

8/24/2020

जनकपुरधाम, ८ भाद्र । प्रदेश २ सरकारले प्रदेशमा रहेका निजी अस्पताल र मेडिकल कलेजलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्ने भएको छ ।

प्रदेश संकट व्यवस्थापन केन्द्रले संघीय सरकारले तोकेको दररेट अनुसार रकम दिएर ती अस्पतालाई कोेरोना संक्रमितको उपचारमा प्रयोग गर्ने निर्णय गरेको हो । मेडिकल कलेज तथा निजी अस्पतालले असहयोग गरेमा संघीय सरकारलाई लेखेर पठाउने वा कानुनी कारबाही गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

हाल प्रदेश २ को पर्सा, बारा, रौतहट, महोत्तरी, सर्लाही सप्तरीसहितका जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेका छन् । संख्या बढेसँगै संक्रमितले उपचार नपाउने अवस्था सिर्जना भएको छ ।

बैठकले बिरामी उपचार नगरी फर्काउने सरकारी, सामुदायिक र निजी स्वास्थ्य संस्थालाई त्यसो नगर्न निर्देशन दिएको छ । यदि बिरामी उपचार नपाई फर्काइए कानूनी कारबाही गर्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रदेश २ सरकारले प्रत्येक जिल्लामा कम्तीमा ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय पनि गरेको छ । प्रमुख जिल्ला अधिकारीको समन्वयमा परिचालन हुने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिने प्रदेश सरकारले जनाएको छ ।

जनकपुर, राजविराज र वीरगञ्जमा पीसीआर मेसिन थप गर्ने र सिरहा, महोत्तरी, सर्लाही, बारा र गौर अस्पतालका लागि पीसीआर मेसिन खरिद गर्ने निर्णय पनि गरेको छ । ती जिल्लामा प्रयोगशाला सञ्चालनका लागि करार सेवामा जनशक्ति पदपूर्ति गर्ने निर्णय पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ