प्रदेश २ मा पहिलो थारू संग्रहालय

समाचार

10/22/2020

राजविराज, ६ कात्तिक । थारू जातिको कला संस्कृति, रीतिरिवाज, परम्परा, भाषाको ज्ञानसँगै थारू जातिको जीवनशैली झल्काउने उद्देश्यले सप्तरीको कञ्चनरूपमा थारू सांस्कृतिक संग्रहालय उद्घाटन गरिएको छ ।

कञ्चनरूप नगरपालिका–६, जमुवामा होमस्टे सञ्चालनमा आएको साढे दुई वर्षपछि प्रदेश २ कै पहिलो थारू संग्रहालय उद्घाटन भएको हो । कोसी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले संग्रहालय भवन उद्घाटन गरे ।

पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्ष बच्चुलाल चौधरीका अनुसार वन तथा वातावरण मन्त्रालयबाट प्राप्त ५५ लाख रुपैयाँको आर्थिक सहयोग र जनश्रमदानको १३ लाख ७५ हजार गरी ६८ लाख ७५ हजारमा दुईतले भवन निर्माण भएको हो ।

चौधरीले भने, ‘थारू जातिको कला संस्कृति जीवित राख्ने उद्देश्यले बनाइएको संग्रहालयमा थारू जातिको मौलिक, पौराणिक र संस्कृति झल्कने सामग्री राख्ने छौँ ।’ संग्रहालयमा थारू वाद्यवादन, आत्मसंरक्षण र सिकारका लागि प्रयोग गरिने हतियार, कृषि र फर्निचर निर्माणमा प्रयोग गर्ने सामग्री, अन्न, तेलहन भण्डारणका सामग्री, कुटानी पिसानी, नापतौलमा प्रयोग गरिने सामग्री, विवाहमा प्रयोग हुने सामग्री र थारू गरगहना राखिनेछ। संग्रहालयमा थारू जातिमा जन्मदेखि मृत्युसम्म प्रयोगमा आउने सामग्रीहरू सूचीकृत भइरहेको पानवती चौधरीले बताइन् ।

कतै नपाइने अर्ना रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष, नेपालकै पहिलो चन्द्र नहर, प्राकृतिक स्रोतले भरिपूर्ण चुरे क्षेत्र र सामुदायिक वन, २२ मौजाको राजाजी र मंगतगैया बाबाको मन्दिर, सप्तकोसी नदी, प्रसिद्ध धार्मिक स्थल बराहा र चतरानजिकै रहेको जमुवामा होमस्टे पनि सञ्चालनमा रहेकाले पर्यटन नगरीका रूपमा विकास गर्न संग्रहालय स्थापना गर्न लागिएको विष्णुदेव चौधरीले बताए । होमस्टे सञ्चालन गरेकी सीतादेवी चौधरीले भनिन्, ‘कोरोना भाइरस (कोभिड–१९)ले संसारकै जनजीवन प्रभावित र अस्तव्यस्त बनाएकाले कोभिडपछि चाँडै थारू संग्रहालय सञ्चालनमा ल्याउँछौँ ।’

उद्घाटनका अवसरमा कञ्चनरूप नगरपालिकाका प्रमुख वसन्त मिश्रले संग्रहालय व्यवस्थित र स्तरीय बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले प्रदेश २ मै पहिलो बालमैत्री नगर बनेको कञ्चनरूपमा पहिलो होमस्टे सञ्चालन भई पहिलो संग्रहालय सञ्चालन हुन लागेकोमा खुसी व्यक्त गरे ।

उद्घाटनका अवसरमा थारूको मौलिक पोसाकमा सजिएका महिलाले फूल, अबिरले स्वागत गर्नुका साथै मौलिक कला संस्कृति झल्किने ऋतु वसन्त गीत र नृत्यले मनोरञ्जन गराए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ