प्रदेश २ मा विद्युत प्रणाली सुधार गर्न सम्झौता

समाचार

3/18/2021

काठमाडौं, ५ चैत । प्रदेश २ का सबै आठ वटै जिल्लाहरुमा विद्युत प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता भएको छ ।

नेपाल विद्युत प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच प्रदेश २ ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करिब ४ अर्ब रुपैयाँको ठेक्का सम्झौता पत्रमा हस्ताक्षर भएको छ । टाटा प्रोजेक्ट लिमिटेड भारतीय कम्पनी हो ।

आयोजनाबाट प्रदेश नम्बर २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा काम हुनेछ ।

आयोजनामार्फत प्रदेश २ का जिल्लाहरुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहितका ३३÷११ केभी, १६..६ एमभीए क्षमताका ८ वटा सबस्टेसनको निर्माण गरिने छ ।

यसैगरी, ३३/११ केभी, ८ एमभीए क्षमताका दुई वटा सबस्टेसनको निर्माण गरिने छ । उक्त सबस्टेसनको क्षमता १४८.८ एमभीए हुनेछ ।

यसका साथै प्रदेश २ का जिल्लाहरुमा ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन र एक हजार सर्किट किलोमिटर चार सय भोल्टको नयाँ लाइन निर्माण गरिने छ ।

आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एसियाली विकास बैंकमार्फत सञ्चालित हुनेछ ।

प्राधिकरणकातर्फबाट सम्झौतापत्रमा आयोजना प्रमुखहरु विमल चौधरी, रोशन खड्का, रन्धिर पाठक र अमित भगत, लेखा प्रमुख विष्णुप्रसाद आचार्य, इन्जिनियहरु वसन्त नेपाल र विसम विनोद खनाल र टाटा प्रोजेक्टकातर्फबाट महाप्रवन्धकहरु श्याम नारायण मित्तल र मनोज कुमार पटनायकले हस्ताक्षर गरेका छन् ।

आयोजनाको निर्माण ठेक्का सम्झौता कार्यान्वयनमा आएको ९ सय दिन अर्थात ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ