प्रदेश २ मा संसदीय दलको नेता चयन गर्न किचलो

समाचार

11/29/2020

काठमाडौं, १५ मंसिर । प्रदेश २ मा संसदीय दलको नेता छान्न सत्तारुढ जसपाभित्र किचलो बढेको छ ।समाजवादी पार्टी र राजपा मिलेर बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रदेश २ को संसदीय दलको नेता बन्नका लागि आन्तरिक दौडधुप बढको छ भने विवाद पनि सहतमा आउन थालेको छ ।

राजपा र समाजवादी पार्टीको एकीकरण भएर जसपा बनेपछि संसदीय दलको नेता अझै चयन हुन सकेको छैन । प्रदेश २ मा जसपाकै सरकार छ ।

संसदीय दलका नेता नै प्रदेशको मुख्यमन्त्री बन्ने प्रावधान छ । त्यसैले नयाँ मुख्यमन्त्री बन्न पनि नेताहरुले आआफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । संसदीय दलका नेता चयन हुन नदिन निर्वाचन आयोगले दिएको पार्टी दर्ताको पत्र समेत सुरुमा प्रदेशसभामा दर्ता नै नगराई मुख्यमन्त्री लालबाबु राउतले लुकाएको आरोप जसपा निकट प्रदेशसभा सदस्यहरुको छ ।

जबकी पार्टी दर्ता भएको सूचना राजपत्रमा २०७७ साउन १२ गते प्रकाशित भएको थियो । त्यस्तै २०७७ साउन ३० मा नै निर्वाचन आयोगले दल दर्ताको विषयको पत्र प्रदेश सभामा पठाएको थियो । तर जसपाका नेताहरुको बीचमै संसदीय दलका नेताका लागि विवाद देखिएको र दुवै पार्टीका सचेतक सुविधा लिँदै आइरहेका छन् ।

जसले गर्दा सो पत्र नै दर्ता गराउन नेताहरुले आनाकानी गर्दै आइरहेका थिए भने मुख्यमन्त्री लालबाबु राउतले पनि सो पत्र नै दर्ता गराएका थिएनन् । प्रदेश २ मा जसपाको संसदीय दलको नेता चयन गर्न निर्वाचन आयोगले बारम्बार ताकेता गरेको छ । संसदीय दलको नेता नै प्रदेशको मुख्यमन्त्री बन्ने प्रवधानका कारण पार्टीमा संसदीय दलको नेता चयन गर्न कठिनाई भइरहेको जसपाका एक नेताले बताए ।

तर, गत कात्तिक २७ गते प्रदेश सभामा भने पत्र दर्ता गराइएको प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले जानकारी दिए । यद्यपी अहिलेसम्म संसदीय दलको नेताको चयनका लागि कुनै प्रक्रिया भने गरिएको छैन ।

संसदीय दलको नेता चयन गर्नका लागि समस्या भएपछि जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव जनकपुरधाममा आएर बैठक बसाएका थिए । बैठकले विधान मस्यौदा समिति गठन गरेको थियो । समितिमा मनिष सुमन, उपेन्द्र महतो, रानि शर्मा तिवारी, रामअशिष यादवलाई संसदीय दलको विधान बनाउन समिति गठन गरिएको थियो ।

समितिले गत कार्तिक १८ गते नै विधानको मस्यौदा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलाई बुझाई सकिएको छ । यद्यपि अहिलेसम्म सो मस्यौदा पारित गराउन कुनै पहल नभएको पार्टी श्रोतले जनाएको छ ।

प्रदेशसभामा दल दर्ताको पत्र दर्ता भएसंगै पनि ढिलासुस्ती भएको हो । प्रदेशसभाका निमित्त सचिव यादवले दल दर्ताको पत्र २७ गते प्रदेश सभामा दर्ता भएकोले अब सचेतकहरुले आ–आफ्नो सुविधा फिर्ता गर्नुपर्ने जानकारी दिए । उनले भने, ‘नयाँ सचेतक चयनपछि मात्रै पुनः चयन भएका सचेतकलाई सुविधा उपलब्ध गराइने छ ।

तर पार्टीमा सबैभन्दा बढी समस्या संसदीय दलका नेता चयन गर्नमा देखिएको छ । अध्यक्ष यादवको उपस्थितिमा बसेको बैठकले संसदीय दलको विधान बनाउनका लागि एक समिति गठन गरिएको थियो । तर सो समितिले कार्तिक १८ गते नै विधानको मस्यौदा अध्यक्ष यादव र ठाकुरलाई दिएपनि त्यसलाई पारित गराउन कुनै पहल नभएको बताइएको छ ।

विधान मस्यौदा समितिका सदस्य रामअशिष यादवले विधानको मस्यौदा पार्टी नेतृत्वपंक्तीलाई बुझाइसकिएको बताउँदै पार्टीले गर्ने निर्णय अनुसार नै संसदीय दलको नेता छनौट गर्नका लागि निर्वाचन प्रक्रिया अघि बढाइने बताए ।

यता संसदीय दलका नेता छनौट गर्नका लागि बनाइएको विधान मस्यौदा समितिले तयार गरेको मस्यौदा पार्टी भित्रै पारित गराएर मात्रै बुझाउनु पर्ने भएपनि समितिका संयोजक मनिष सुमन एक्लै मस्यौदा बुझाएको जनाए ।

विधानलाई संसदीय दलको बैठकबाट पारित गराएर नेता चयनको प्रक्रिया सुरु हुनेछ । तर विधान पारित गराउनमै समस्या देखिएको छ । संसदीय दलका नेता बन्नका लागि आकांक्षीहरुको संख्या करिब आधा दर्जन छन् ।

संसदीय दलका नेता बन्नका लागि मुख्यमन्त्री लालबाब राउतसहित भौतिक विकास पूर्वाधार मन्त्री जितेन्द्र सोनल, प्रदेशसभाहरु सदस्य उपेन्द्र महतो, मनिष सुमन लगायतकले दावेदारी प्रस्तुत गरेका छन् ।

प्रदेश २ को संसदीय दलका नेता बन्नका लागि मुख्यमन्त्री लालबाबु राउत, जितेन्द्र सोनल, उपेन्द्र महतो, मनिष सुमन लगायतका नेताहरु आकांक्षी छन् ।

‘सरकार भ्रष्ट्राचारमा लिप्त’

राउत नेतृत्वको सरकारले भ्रष्ट्राचारमा लिप्त भएपछि जनताको भावनाअनुसारको काम हुन नसकेर प्रदेश २ गठन भएको अनुभुति हुन सकेको नसकेको सत्ताधारी जसपाकै सांंसदहरुको आरोप छ । राउत नेतृत्वको सरकार फेर्नुपर्नेमा सत्ताधारी प्रदेश २ का अधिकांश मन्त्रिहरुदेखि सांसद र नेताहरु समेत सहमत देखिएका छन् ।

एकीकरण भए पनि संसदीय नेता, उपनेता, सचेतकलगायतको विषयमा पार्टी भित्र विवादको कारणले सहमति गर्न सकेको छैन् । हाल प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीका तर्फबाट संसदीय दलका नेता लालबाबु राउत, उपनेता रामआशिष यादव, प्रमुख सचेतक शैलेन्द्र यादव र राजपा संसदीय दलका नेता जितेन्द्र सोनल, प्रमुख सचेतक प्रमेश्वर साह रहेका छन् ।

मुख्यमन्त्री राउतले दुई पार्टीको एकता पछि पनि दलको नेता बनेर मुख्यमन्त्रीको कुर्सीमा बसिराख्न प्रदेशसभा सदस्यहरुलाई आफूतिर तान्ने कोसिश गरिरहेका छन् भने अर्को तर्फ मन्त्री जितेन्द सोनल आफू संसदीय दलको नेता बनेर मुख्यमन्त्री बने पछि प्रदेशलाई हालको नेतृत्वभन्दा राम्रो गरेर देखाउने भन्दै सदस्यहरुलाई आफूतिर तान्ने काम लागेका बताइएको छ ।

नयाँ संसदीय दलको नेता बन्नको लागि मुख्यमन्त्री राउत र मन्त्री सोनल मुख्य प्रतिस्पर्धीको रुपमा रहेको र अन्य प्रदेश सभा सदस्यहरु संसदीय दलको नेता बन्न खुलेर अगाडि नसकेका हुन । नयाँ संसदीय दलको नेता आए पछि सरकार त्यही अनुसार गठन हुने सम्भावनालाई नकार्न नसकिने अवस्था रहेको छ ।

संसदीय दलको नेताको लागि मुख्यमन्त्री राउतलाई अध्यक्ष उपेन्द्र यादवले अघि सारेका छन् भने मन्त्री जितेन्द सोनललाई अर्का अध्यक्ष महन्थ ठाकुरले अघि सारेको दाबी गरिएको छ ।

पार्टी भित्र संसदीय दलको नेतालगायतको अन्य पदको लागि चुनाव हुने निश्चित भएसंगै प्रदेश २ को वर्तमान सरकार समेत परिवर्तन हुने पक्का पक्की हुने भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ