वीरगञ्ज, २९ मंसिर । पर्साका सबै सरकारी कार्यालय पुस १ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् ।
कोभिड–१९ महामारीका कारण पर्साका कतिपय सरकारी कार्यालयहरुले आंशिक सेवा दिँदै आएकोमा पूर्ण सेवा दिन लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योगको कार्यालय लगायतका कार्यालयहरुले पालिका अनुसार दिन तोकेर सेवा प्रवाह गर्दै आएका थिए ।
मंसिर १८ गते बसेको कार्यालय प्रमुखहरुको बैठकले सरकारी कार्यालयहरुले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गर्दै पुस १ गतेदेखि पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय पर्साले समेत पुस १ गतेदेखि पूर्णरुपमा सेवा प्रदान गर्न लागेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले आइतबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले समेत पुस १ गतेदेखि पूर्ण रुपमा सेवा प्रदान गर्ने जानकारी दिएका छन् ।
प्रशासनले समेत स्थानीय निकाय अनुसार सेवा प्रवाह गर्दै आएको थियो ।
तपाईको प्रतिक्रिया