प्रहरी प्रतिष्ठान बनाउन भारतद्वारा परामर्शदाता नियुक्त

समाचार

10/12/2020

काठमाडौं, २६ असोज । करिब पौने ९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) निर्माणका लागि भारतले ६ जना परामर्शदाता (कन्सल्ट्यान्ट) नियुक्त गरेको छ ।

२०१४ नोभेम्बर २५ मा नेपालका प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा काठमाडौंमा भारतले अनुदान दिने र नेपालले आफ्नो आवश्यकताअनुसार खर्च गर्ने गरी निर्माण अघि बढाउने सम्झौता भएको थियो । तत्कालीन अर्थ सचिव सुमनप्रसाद शर्मा र भारतीय गृह (सीमा सुरक्षा हेर्ने) सचिव स्नेहलता कुमारले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

एकेडेमी निर्माण सम्पन्न नभएसम्म नेपालमै खटिने गरी भारतले उनीहरूलाई परामर्शदाताका रूपमा नियुक्ति दिएको हो । यसमध्येका एक जना वीरगन्ज हुँदै काठमाडौं आइपुगेका छन् । अरू ५ जना आउने क्रममा छन् ।

भारतले सिभिल इन्जिनियर केपी सिंहको नेतृत्वमा चार जना सिभिल र दुई जना इलेक्ट्रिकल इन्जिनियरलाई आयोजनाको परामर्शदाता बनाएर खटाएको छ ।

भारतले नियुक्त गरेका सबै परामर्शदाता आएपछि एकेडेमीको काम अघि बढाउनेसम्बन्धी ग्लोबल टेन्डर आह्वान गर्ने तयारी छ । एकेडेमी निर्माण गर्न भारतले नेपाललाई ५ हजार ४ सय ९४ दशमलव ६१ मिलियन भारतीय रुपैयाँ (८ अर्ब ७९ करोड १३ लाख ७६ हजार नेपाली रुपैयाँ) उपलब्ध गराउने घोषणा ६ वर्षअघि नै गरिसकेको छ । निर्माण सुरु भएपछिको ३ वर्षभित्र आयोजना सम्पन्न गरिने भनिएको छ ।

एकेडेमी निर्माण गर्न नेपाल सरकारले २५.४५ हेक्टर जमिन उपलब्ध गराउने सम्झौता भएको थियो । काभ्रेको पनौती नगरपालिका–६ सुनथानरदलिञ्चोकमा एकेडेमी निर्माणकै लागि ०५२ सालदेखि जग्गा अधिग्रहण तथा खरिद थालिएको थियो । प्रतिष्ठान निर्माणका लागि सरकारले ४२.४ हेक्टर जमिन अधिग्रहण भइसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ